Harsamaya
अनलाइन दर्ता गर्न पाँच हजार शुल्क 
सूचना तथा प्रसारण विभाग ।

काठमाडौं - सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । 

छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ ।

योसँगै लामो सयमदेखि दर्ता र नवीकरण रोकिएका अनलाइन सञ्चारमाध्यमलाई सहज भएको छ । अनलाइनमार्फत नै दर्ता र नवीकरण गर्न सकिने र प्रमाणपत्र लिनुपरेमा विभागमा भौतिक रुपमा उपस्थित हुनुपर्ने विभागले उल्लेख गरेको छ ।

 नेपाल राजपत्रमा विसं २०८२ कात्तिक १३ मा प्रकाशित सूचनाअनुसार नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी गरेको छ । उक्त नियमावलीमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि विभागको सूचना व्यवस्थापन प्रणालीमा लगइन गरी आवेदन दिन सकिनेछ ।

ऐनको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने संस्थाले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नका लागि पाँच हजार दस्तुरसहित अनुसूची ८ (क) बमोजिमको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । यस्तै अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्र नवीकरण गराउन चाहने संस्थाले प्रमाणपत्र बहाल रहने अवधि भुक्तान नहुँदै दुई हजार ५०० दस्तुरसहित आवश्यक कागजपत्रका साथ नवीकरणका लागि निवदेन दिनुपर्नेछ ।

नेपाल राजपत्रमा गत साउन ४ गते प्रकाशित छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को संशोधनअनुसार दफा ७ मा (ख) थप गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्न दस्तुर लिने व्यवस्था छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update