Harsamaya

काठमाडौं - काठमाडौंको अनामनगर नजिक देवीनगरस्थित नेचर फ्लाई नर्सरीकी संचालिका उषा खड्कालाई यतिबेला भ्याइनभ्याइ छ । तिहार फूलको मौसम भएकाले उनलाई विभिन्न प्रजातिका फूल बेच्न हतारो उस्तै छ ।  

सात वर्षअघिदेखि सञ्चालनमा आएको उनको नर्सरी व्यवसाय पछिल्ला वर्षमा प्रभावकारी बन्दै गएको छ । खड्काका अनुसार सुरुका वर्षहरूमा सामान्य रूपमा चलेको व्यापार अहिले स्थिर रूपमा अघि बढिरहेको छ ।

पछिल्ला केही समयको बाढीपहिरो र आन्दोलनले भने अलिकति असर पारेको उनले बताइन् । ‘तर अहिले दशैँ–तिहारको माहोलमा फूलहरूको माग फेरि बढ्दै गएको छ’ उनी भन्छिन् ।

हाल नर्सरीमा सयपत्री, मखमली र गोदावरी फूलको बढी माग छ । ‘अहिलेको सिजनमै यी फूलहरूको डिमान्ड निकै बढेको छ,’ खड्काले बताइन् । दशैँ र तिहारमा पूजा, माला र घर सजावटका लागि यी फूलको प्रयोग धेरै हुने भएकाले माग उच्च रहेको छ ।

फूलसँगै अहिले घरभित्र सजावटका लागि इन्डोर प्लान्टहरू पनि उत्तिकै लोकप्रिय भएका छन् । ‘अब त इन्टेरियर डिजाइनको कुरा पनि आउँछ नि, त्यसैले इन्डोर प्लान्टको माग बढेको छ,’ उनी भन्छिन् । उनका अनुसार अहिले स्नेक प्लान्ट, एरिका पाल्म र अन्य हावालाई स्वच्छ राख्ने बिरुवाहरू बढी बिक्री भइरहेका छन । ‘यी प्लान्टहरूले वातावरण सफा गर्छन्, घरमा शुभ संकेत ल्याउँछन् र हेर्दा मन पनि आनन्दित हुन्छ,’ खड्काले थपिन् ।

उनका अनुसार मानिसहरू अहिले केवल घर सुन्दर बनाउने मात्र होइन, स्वस्थ्य र स्वच्छ हावा पाउने चाहनामा पनि छन् । ‘नासाले समेत इन्डोर प्लान्टले हावाको टक्सिन घटाउँछ भनेको छ । त्यसैले मान्छेहरूलाई अब यसको फाइदा बुझिन थालेको छ,’ उनी भन्छिन् ।

नेचर फ्लाई नर्सरीमा सानोदेखि ठुला विभिन्न साइजका फूलहरू उपलब्ध छन् । ‘हाम्रोमा फुलको मूल्य सानोदेखि ठुलो पोलीसम्म फरक पर्छ,’ उनी बताउँछिन् । ‘जस्तो गोदावरी ५० रुपैयाँदेखि ५०० सम्म, सयपत्री ४० देखि २५० सम्म साइज हेरिहेरी मूल्य पर्छ ।’

फूलहरूको बढ्दो मागका कारण कतिपय फुलहरू बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताइन् । ‘यहाँको उत्पादनले मात्र धान्दैन, त्यसैले इम्पोर्ट गर्नुपर्ने हुन्छ’ उनी भन्छिन्, ‘बाहिरबाट ल्याइएका इम्पोर्टेड प्लान्टहरू महँगो भए पनि राम्रो र आकर्षक हुन्छन्, त्यसैले ग्राहक तिनीहरू नै रोज्छन् ।’

फूलको व्यापारमा उनलाई भविष्य उज्वल देख्छिन् । ‘व्यापार बढेकै हो, किनकि सबैलाई अब घरमा फूल रोपौं, उज्यालो बनाऔँ भन्ने सोच बढेको छ,’ उनी भन्छिन् । अहिले विशेष गरी फूलभन्दा पनि इन्डोर प्लान्टको डिमान्ड बढ्दै गएको उनको अनुभव छ ।

ग्राहकलाई आकर्षित गर्न नर्सरीले विभिन्न अफरहरू पनि ल्याएको छ । ‘हामीले अहिले १० देखि २० प्रतिशतसम्मको डिस्काउन्ट दिएका छौँ । सयपत्रीमा १० प्रतिशत छुट छ,’ खड्काले बताइन् । साथै, फलफूलका बिरुवा खरिद गर्दा दुई केजी मल फ्री दिने योजनासमेत रहेको उनले बताइन् ।

अहिलेको सिजनमा सयपत्रीलाई सबैभन्दा बढी प्राथमिकता दिइन्छ । ‘सयपत्री अहिले नम्बर वानमा छ, त्यसपछि गोदावरी’ उनी बताउँछिन् । ‘मखमली चाहिँ घरमा रोप्नभन्दा माला बनाउनकै लागि बढी प्रयोग हुन्छ ।’

फूलका दुई प्रकार हुन्छन्, सिजनल र पेनियल (बहुवर्षीय) ‘सिजनल फूल सस्तो हुन्छ, तर एकचोटि मात्र फुल्छ’ उनले स्पष्ट पारिन् । ‘पेनियल फूल भने वर्षौंसम्म फुलिरहन्छ । जस्तो हेबिस्कस वा एजोलिया, यी एकचोटि लगाएपछि वर्षौँभर फुल्छन् ।’
- प्रमिला कार्की

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update