Harsamaya
जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो  : मनोज थापा
नेपाली सेनाका युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापा ।

काठमाडौं - नेपाली सेनाका युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले जेनजी आन्दोलनपश्चात् उत्पन्न अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका छन् ।

शुक्रबार जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलनपश्चात् शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसै दिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कर्फ्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।

उनले आन्दोलनका क्रममा सेनाले गरेका गतिविधिबारे संक्षिप्त विवरण प्रस्तुत गर्दै भने, ‘भाद्र  २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाहरूको विवरणबारे यहाँहरू जानकार नै हुनुहुन्छ । भाद्र २३ गतेको १२ ः३० बजेको समयमा कफ्र्यू घोषणा भएपछि काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुरक्षाको लागि नेपाली सेना खटिएको थियो । साथै सोही दिन १७ ः १० बजे सुनसरी जिल्लाको इटहरीमा समेत कफ्र्यू घोषणा भएपछि सेनाको फौज खटिएको थियो । भाद्र २४ गते नेपाली सेनाले देशको शान्ति सुरक्षाको स्थिती चुनौति हुँदै गएपछि अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक व्यक्ति र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको थियो ।’ भदौ २४ गते शान्ति सुरक्षाको स्थिति थप चुनौतीपूर्ण हुँदै गएपछि नेपाली सेनाले अति विशिष्ट तथा विशिष्ट व्यक्ति, राजनीतिक नेतृत्व र सुरक्षाकर्मीहरुलाई सुरक्षित स्थानमा उद्धार गरेको समेत उनले जानकारी गराए । त्यसै दिन मुख्य सचिवसहित सुरक्षा निकाय प्रमुखहरूले संयुक्त अपिल जारी गरेका थिए भने नेपाली सेनाले पनि संयमित रहन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आम नागरिकमा अनुरोध गरेको थियो ।

त्यसै दिन राति ९ः३० बजे प्रधानसेनापतिको सम्बोधनपछि राति १० बजेबाट नेपाली सेना देशभर प्रभावकारी रूपमा शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको थियो । सेनाको यो परिचालन भदौ २५ देखि भदौ २८ बिहानसम्म देशव्यापी रूपमा कायम रहेको थियो ।

उक्त अवधिमा नेपाली सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग संयुक्त रूपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरू सञ्चालन गरेको सहायक रथी थापाले जानकारी दिए ।

उनले भने, ‘मुख्य सचिव सहित सुरक्षा निकायका प्रमुखहरूले संयुक्त अपिल जारी गर्नुका साथै नेपाली  सेनाले सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन अनुरोध समेत गरेको थियो । यसै दिनको २१ ः३० बजे प्रधानसेनापतिको सम्बोधन पश्चात नेपाली सेना २२ बजेबाट प्रभावकारी र भरपर्दो  शान्ति सुव्यवस्था कायम गर्न देशभर तैनाथ भएको थियो । भाद्र २५ गते ततपश्चात भाद्र २८ गते बिहानसम्म देशभर नेपाली सेना शान्ति सुरक्षा कायम गर्न तैनाथ रहेको थियो । यसै अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग संयुक्त रुपमा विभिन्न किसिमका सुरक्षा गतिविधिहरु सञ्चालन गरेको थियो ।’

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update