
काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध खानेपानीको विषयमा उजुरी परेपछि अख्तियारले उनीलाई राय मागेको थियो ।
राईले माघ २ गते आयोगको इटहरी कार्यालयबाट प्राप्त पत्रअनुसार आफ्नो राय जवाफ दिएका छन् । शुक्रबार अख्तियारलाई राय प्रतिक्रिया दिँदै उनले धरान खानेपानी बोर्ड स्वायत्त निकाय रहेको भन्दै नगरवासीलाई खानेपानी उपलब्ध गराउन सबैखाले विधि अपनाउने उल्लेख गरेका छन् ।
उनले पानी मानिसको जीवनमा अति आवश्यक भएकाले केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन रित्तो गाग्री लिएर सिंहदरबार गएको बताएका छन् । कोशीको पानी ल्याएर धरानका जनतालाई तत्काल खुवाउने केन्द्र सरकारको योजना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक तथा सहयोगीहरूबाट आर्थिक तथा भौतिक सहयोग लिएर क्रोक्राहा खानेपानी श्रमायोजना २ चलाएको पत्रमा उल्लेख गरेका छन् ।
उनले अख्तियारलाई जवाफ दिँदै एक दिन घुम्न आउन आग्रहसमेत गरेका छन् । उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर पठाउन पनि अख्तियारलाई आग्रह गरेका छन् ।
उनले पत्रमा भनेका छन्, 'धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुख गर्दा पनि ताली नबजाको देख्दा । राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, तिर्खाएका मानिसको श्राप लाग्ला ।'
धरान उपमहानगरपालिकाको राय प्रतिक्रिया :-