विराटनगर - भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ। सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।
आज (मंगलबार) बिहान मुख्यमन्त्री हिक्मत कुमार कार्की स्वयं इलाम स्थलगत निरीक्षणमा गएका हुन् । उनले इलाममा पुगेर जिल्ला विपद् व्यवस्थापन समितिसँग खोज तथा उद्धार, राहत वितरण र अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरे ।
मुख्यमन्त्री कार्कीले इलाममा सुरक्षा निकायको संयुक्त बैठक समेत बोलाएर विपद् व्यवस्थापनको कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सो क्रममा उनले भनेका छन्, ‘प्रदेश सरकारको सामथ्र्यले भ्याएसम्म सबै प्रभावित क्षेत्रमा राहत पु¥याउने काम निरन्तर जारी रहनेछ।’
प्रदेश सरकारले अहिले पहिरो प्रभावित क्षेत्रहरूमा खाद्यान्न, लत्ता–कपडा, औषधि र प्राथमिक उपचार सामग्री पठाइरहेको छ। सवारीसाधन नपुगेका ठाउँमा हेलिकप्टरमार्फत राहत पु¥याउने तयारी पनि भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

