Harsamaya

काठमाडौं - नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ । प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा सदियौँदेखि चल्दै आएको छ । तर जमरा र टीका केवल एक सांस्कृतिक अभ्यास मात्र नभई, यसको धार्मिक, आध्यात्मिक र वैज्ञानिक अर्थ पनि उत्तिकै गहिरो छ ।

गुरु नारायण प्रसाद आचार्यका अनुसार, जमरा भनेको जौ हो र जौलाई भगवान् विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा नवमीसम्म पूजा गरी दशमीका दिन देवीलाई विसर्जन गरेपछि महाप्रसादका रूपमा ग्रहण गरिन्छ । 

उनी भन्छन्, ‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेँलो जमरा सफलता र पूर्णताको प्रतीक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशीर्वाद थापिन्छ ।’

त्यस्तै, रातो टीकालाई भगवतीको आकर्षणको प्रतिकका रूपमा बुझिन्छ । निधारमा रातो टीका लगाउँदा विजय, ऐश्वर्य र ऊर्जाको भाव प्रकट हुन्छ । 

आचार्यले थपे, ‘रामले रावणमाथि विजय हासिल गरेको सम्झनामा हामी विजयादशमीलाई विजय उत्सवका रूपमा मनाउँछौँ । यस दिनको टीका  र जमराले त्यसै विजयको स्मरण मात्र होइन, आत्मिक शक्ति पनि प्रदान गर्छ ।’

दशैंका नौं दिनमा नवदुर्गाको पूजा गरिन्छ । दुर्गाका विभिन्न स्वरूपहरूमध्ये शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीलाई विशेष गरी नवरात्रमा स्मरण गरिन्छ । 

गुरु रविन्द्र आचार्यका भनाइमा, जमरा प्रकृतिसँग जोडिएको प्रतीक हो । यव अर्थात् जौ भगवान् भोलेनाथको स्वरूप मानिन्छ भने तिल भगवान् विष्णुको, त्यसैले घटस्थापनामा राखिएको जौलाई भगवतीको सान्निध्यमा पूजा गरिन्छ ।

उनी भन्छन्, ‘शिव र शिवाको पूजा सँगसँगै हुन्छ, जहाँ शिव हुन्छन् त्यहाँ दुर्गा अर्थात् शिव पनि अनिवार्य हुन्छिन् ।’

नवरात्रमा गरिएको जमरा रोपण केवल कृषिसँग सम्बन्धित मात्र नभई देवीको उपस्थितिको प्रतीक मानिन्छ । त्यसैले नवमीसम्म निरन्तर पूजापाठ गरी त्यसलाई महाप्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

जमरा र टीकाको परम्परा वेद–पुराणसँग जोडिएको पाइन्छ । हिन्दु धर्मग्रन्थमा दशैंलाई देवी दुर्गाले महिषासुर नामक राक्षसविरुद्ध प्राप्त गरेको विजयको प्रतिकका रूपमा वर्णन गरिएको छ । रामायणमा भगवान् रामले दुर्गा भवानीको आराधना गरी रावणलाई पराजित गरेको कथासँग पनि विजयादशमीको सम्बन्ध जोडिन्छ । 

प्राचीन समयमा राजा–महाराजाहरूले युद्धमा विजय पाएपछि प्रजाहरूलाई टीका र जमरा लगाइदिने चलन रह्यो । यसलाई विजयको घोषणा गर्ने र सबैलाई एकतामा बाँध्ने माध्यमका रूपमा उपयोग गरिन्थ्यो । यही संस्कार क्रमशः पारिवारिक र सामाजिक परम्परामा रूपान्तरण हुँदै आएको हो ।

जमरालाई केवल धार्मिक दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । वैद्यहरूको भनाइअनुसार, जमराको जुस पिउनाले शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जमरा पहेँलो हुने कुरा पनि वैज्ञानिक दृष्टिले रोचक छ । पहेँलो रङले परिपक्वता र तयारीको सङ्केत गर्छ । 

आचार्यका अनुसार, ‘जमरा पहेँलो देखिनु भनेको सफलता र सिद्धिको प्रतीक हो र यो प्रकृतिको प्राकृतिक सङ्केत हो । जुन हाम्रो संस्कृतिमा आध्यात्मिक अर्थसँग जोडिएको  ।’

दशैंको टीका र जमराले परिवार, आफन्त र समाजलाई एकतामा बाँध्ने काम गर्छ । मान्यजनबाट टीका र जमरा ग्रहण गर्दा आशीर्वादका शब्दहरू उच्चारण गरिन्छ । ‘लक्ष्मी बास गरून्, दुर्गा द्वारमै रहून्, सरस्वती वाणीमा बसुन्, काली साथमा रहून्, पिर–चिन्ता टाढा रहून् ।’ 

यसरी दिएको आशीर्वादले पारिवारिक स्नेह, आशीर्वचन र सकारात्मक ऊर्जा पीढी दर पीढी हस्तान्तरण हुन्छ । यही कारण दशैंलाई पारिवारिक मेलमिलापको पर्व पनि भनिन्छ । ग्रामीण भेगमा अझै पनि जमरा खेती र कृषिसँग गाँसिएको प्रतीक मानिन्छ । घरमा अन्न–धान राम्रो फलोस् भन्ने विश्वासका साथ जमरा राख्ने चलन रहँदै आएको छ ।

विजयादशमीको टीका लगाउने साइत पञ्चाङ्गमा उल्लेख भए पनि सबैका लागि बिहानदेखि बेलुकासम्म जुनसुकै समयमा टीका थाप्न मिल्छ भन्ने विश्वास छ । राष्ट्र प्रमुखले तोकेको साइतलाई औपचारिक रूपमा अनुसरण गरिए पनि साधारण जनजीवनमा आफूलाई अनुकूल समयमा टीका थाप्ने चलन व्यापक छ । मान्यजनले टीका र जमरा लगाइदिँदा सँगै दिइने आशीर्वाद मात्र शब्द नभई सकारात्मक ऊर्जाको सञ्चार मानिन्छ ।

यसरी जमरा र टीकाको परम्परा धार्मिक आस्था, सामाजिक एकता र वैज्ञानिक तथ्य सबैसँग गाँसिएको छ । दशैंको दशौँ दिन टीका र जमरा ग्रहण गर्नु केवल एउटा संस्कार मात्र होइन, त्यो विजयको उत्सव हो, आत्मबलको प्रतीक हो, परिवार र समाजलाई अझ नजिक ल्याउने अवसर हो ।

आजको आधुनिक युगमा पनि दशैंको टिका र जमरा संस्कृतिको गहिरो जरा भएर कायम छ । यसले नेपाली समाजलाई आफ्नो मौलिकता सम्झाउने मात्र होइन, एक आपसमा सद्भाव र एकतामा बाँध्ने शक्तिशाली सूत्रको काम गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update