काठमाडौं - नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाइसकेका गायक हुन् डेभिड शंकर । जसले अहिले गायकीको नेपाली बजारमा लोकप्रिय स्थान बनाइसकेका छन् । पाँचथरको रानी गाउँमा जन्मिएका डेभिड शंकरले बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । २०६२ मा ‘पाँचथर तारा’ र २०६४ मा ‘मेची तारा’ को उपाधि जितेपछि उनको साङ्गीतिक यात्राको ढोका खुलेको हो ।
उनले कैयौँ आधुनिक गीतहरू गाए पनि चलचित्रका गीतहरूबाट बढी लोकप्रियता पाए । ‘पञ्चेबाजा’ चलचित्रको ‘घिन घिन मादल’ र ‘छक्का पन्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतले उनलाई घर–घरमा चिनाएको थियो । हालसम्म उनले ५०–६० भन्दा बढी चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन् । त्यसो त उनले चलचित्र गीत बाहेक अन्य आधुनिक गीतहरूमा पनि नगाएका होइनन्, तर उनले गाएका फिल्मका गीतहरूमा दर्शक श्रोताहरूले अति नै रुचाए । गीत संगीतको यात्रा र दशैंको मौका छोपी उनीसँग गरेको कुराकानीमा उनले अरू वर्षभन्दा यस वर्ष दसैँको उल्लासपूर्ण महसुस कम भएको बताए ।
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको घट्नाले देश दुखिरहेको अवस्था रहेको बताउँदै उनले सोही कारणले पनि आफूलाई पनि दशैं आएको जस्तो महसुस नभएको बताए । उनले भने,‘यस पटक अरू बेलाको भन्दा अलिकति फरक खालको महसुस भइरहेको छ । खास भन्ने हो भने यस पटक खासै दशैं आएजस्तो पनि लागिरहेको छैन, किनभने देश अहिले विषम परिस्थितिमा छ । देश दुखिरहेको अवस्थामा छ । अहिले देश उथलपुथल भएको जस्तो देखिएको छ । यो सायद सम्भवतः नेपाली इतिहासमा यो खालको आन्दोलन कहिले भएको थिएन ।
जेनजी आन्दोलनले झन्डै ३० घण्टाको अन्तरालमा एउटा सरकार गिरायो। लगभग ७०–७५ जना मान्छेहरू सहिद हुनुभयो । त्यो हिसाबले पनि देश अहिले रोइरहेको अवस्थामा छ । दशैं त्यति सारो रमाइलो लागिरहेको छैन । मान्छे भावुक अवस्थामा हुनुहुन्छ । अनि आफूलाई पनि दशैं आएको जस्तो महसुस अलि कम भएको छ ।’
त्यस्तै उनले भावुक हुँदै दशैं नजिकिँदै गर्दा मनमा हर्ष, उल्लास र उमङ्ग हुनुपर्ने ठाउँमा आन्दोलनका तस्बिरहरू आँखामा घुमिरहेको बताए । यद्यपि उनी आफ्नो परिवारसँग बसेर सामान्य दशैं मनाउने सोचमा छन् ।
उनले भावुक हुँदै भने,‘मनाउन त मनाइन्छ नै, त्यसमा कुनै दुबिधा छैन । तर जुन एक किसिमको मनमा हर्ष, उल्लास, उमङ्ग हुन्थ्यो नि,त्यो कता कता नभएको जस्तो लाग्छ । आन्दोलनका ती तस्बिरहरू आँखामा घुमिरहेको अवस्थाले गर्दा पनि हो । किनभने भर्खरै एक महिना पनि नभएको अवस्था छ । तर पनि अब आफूले जुन हिसाबले दशैं मनाइन्थ्यो, त्यो अलि कम हुन्छ । परिवारहरूसँग नै बसिन्छ ।’
यसै गरी उनले दशैं भनेको वर्षमा एक चोटि आउने चाड भएकाले टाढा–टाढा भएका आफन्तहरूलाई भेट्ने समय समेत भएको बताए । उनले भने, ‘दशैं भनेको पक्कै पनि वर्षमा एक चोटि आउने चाड, टाढा–टाढा भएको दाजुभाइ, दिदीबहिनी, आमाबुवा, साथीहरूसँग भेट्ने समय हो ।’
कुनै समयमा आफूले दशैं मनाउन नपाउँदाको दुखद क्षण पनि उनले स्मृतिमा अझै ताजा छन् । कलाकारिता क्षेत्रमा जोडिएपछि व्यस्तताका कारण आफ्नो परिवारसँग बसेर चाडपर्व मान्न नपाउनुलाई उनले स्वाभाविक लिएका छन् । तर विगतको त्यो पल स्मरण गर्दै उनी भन्छन्, ‘कहिलेकाहीँ कार्यक्रमको सिलसिलामा देश बाहिर जानुपर्ने हुन्छ अथवा देशभित्रै हुँदा पनि दशैंको दिनको प्रोग्राम हुन्छ । त्यसअर्थमा थुप्रै प्रोग्रामहरूले गर्दाखेरि आफ्नो परिवारहरूसँग बसेर दशैं मनाउन नपाएको समय छ ।’
गायक डेभिड भन्छन्,‘केही वर्ष अगाडिको कुरा हो, म काठमाडौँमा पढ्दै थिएँ। त्यो एक साङ्गीतिक कार्यक्रमभन्दा बाहिरको प्रसङ्ग हो। दशैंको समय थियो । म घर जान पाएको थिइनँ - सम्भवतः पहिलोपटक परिवारदेखि टाढा बसेर दशैं बिताउने मौका थियो । त्यस बेलामा म बानेश्वरमा बस्दै आएको थिए । बानेश्वरबाट तीनकुनेतिर हिँड्दै गएको थिएँ। गाडीहरू खासै थिएनन्, सडक सुनसानजस्तै लाग्थ्यो। बाटोमा थोरै मात्र मान्छे देखिन्थे। अधिकांशको निधारमा टीका लागेको देखिन्थ्यो। मैले भने टीका लगाएको थिइनँ। त्यो दिन खाली निधारमै सडक किनारामा हिँडिरहँदा आफैँ भावुक हुन्छु ।’
उनको विचारमा पहिला र अहिलेको दशैं मनाउने तरिकामा निकै परिवर्तन भएको छ । पहिलेको दशैंमा जुन आत्मीयता र उमङ्ग थियो अहिलेको दशैंमा उनी खासै देख्दैनन् । अझ सामाजिक सञ्जालको प्रयोग चाडपर्वहरूको आत्मियता पनि हाबी भएको उनको बुझाइ छ ।
उनले भने,‘पहिला र अहिले फरकभन्दा समय गतिशील छ । समय परिवर्तनशील छ । हिजो हामीले बिताएको दशैंमा एक किसिमको आत्मीयता थियो । त्यो एउटा उमङ्ग थियो । अब अहिले समय परिष्कृत भयो, अहिले सबै आ–आफ्नो किसिमको व्यस्त छन् । सोसल मिडियाहरू त्यत्तिकै आइरहेको छन् । त्यसले गर्दाखेरि मान्छेहरूको अहिले व्यस्तता भयो । सामूहिक रमाउने भन्दा पनि सेल्फमा घण्टौँ बिताइदिने समय आएको छ । पहिला जुन एक किसिमको दशैं भन्दाखेरि दाजुभाइ, दिदीबहिनी टाढा–टाढाबाट घर जाने, हुन्छ नि, देश–परदेशबाट आफ्नो जन्मघर आउने, त्यो थियो भने अहिले त्यो कम भएको हो कि जस्तो लाग्छ । हुन त मान्छेलाई आफ्नो जन्मघर जाने, परिवारहरूसँग, सबैसँग बस्ने रहर त पक्कै पनि हुन्छ होला तर त्यस्तो वातावरण कम भएको महसुस हुन्छ ।’ दशैं चाड र सङ्गीतबिचको सम्बन्ध सुमधुर हुने उनको ठम्याई छ । दसैँको बेला बज्ने गीत सङ्गीतहरूले थप हर्ष र उमङ्ग ल्याउने उनको भनाई छ ।
‘दशैं भन्ने बित्तिकै आफैँमा पनि नेपालीहरूको महान् चाड हो । यसमा मान्छेलाई दसैँ भन्ने बित्तिकै, एक किसिमको हर्ष, उल्लास, उमङ्ग आउने, शरीरमा फुर्ती आउने गर्छ । मौसम पनि घमाइलो हुन्छ । अनि धानको बालाहरू झुल्ने बेला भएको हुन्छ, त्यो कोदो फुलेको समय, एउटा बिछट्टै रमाइलो, एक किसिमको मनै अर्कै हुने खालको हुन्छ, ’उनले भने,‘ अब गीत–संगीत, त्यो वातावरण खुबै आनन्ददायी हुन्छु । गीत–संगीत घन्किँदा त त्यसले त अर्कै बनाइ नै हाल्छ । दशैं साँच्चिकैको चाड हो जस्तो महसुस हुन्छ । थुप्रै चाडहरूको आ–आफ्नै विशेषता छ, तर दशैं तिहार भन्दा धर्म र संस्कृतिसँग पनि सम्बन्धित हुन्छ ।’
गायक डेभिड शंकरका लागि दशैं केवल चाड मात्र नभएर साङ्गीतिक आत्मा बोकेको स्मृति र अनुभूतिहरूको सङ्ग्रह हो । तर यसपालि देशको हालको अवस्था र जनआन्दोलनले दसैँको रौनक कम गरिदिएको उनी भावुक हुँदै सुनाउँछन् ।