
काठमाडौं - आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।बडादसैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादसैँको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलान्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्ति पीठमा पूजा आराधना एवं दर्शनार्थीको भीड लाग्छ ।
दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।