-1758451244.jpg)
काठमाडौं - जेनजी आन्दोलनको दौरान सामाजिक सञ्जालमा भाइरल बनेका कालो ड्रेस, टोपी र चश्मा लगाएका युवाको पहिचान खुलेको छ । सुरक्षाकर्मी जस्तै देखिने भेषमा मैदानमा सक्रिय देखिएका ती युवा वास्तवमा ‘हामी नेपाल’ टिमका सदस्य २१ वर्षीय जेनिश महर्जन भएको खुलेको हो ।
पहिलो नजरमा आन्दोलनमा ‘घुसपैठ’ जस्तो देखिए पनि, उनको वास्तविक भूमिका भने घाइते उद्धारकर्ता रहेको पाइएको छ । प्रहरी अनुसन्धानले जेनिशको पहिचान गरेपछि, हामी नेपाल टिमका संयोजक सुदन गुरुङले समेत पुष्टि गरेका हुन् ।
गुरुङका अनुसार, जाजरकोट भूकम्पमा उद्धारमा खटिँदा सेनाको पोशाक मन परेका कारण उनले उस्तै शैलीको ड्रेस लगाउने रुचि बनाएका रहेछन् । त्यसपछि उनले उक्त ड्रेस आफैं किनेर लगाउन थालेका हुन् ।
यति मात्र होइन, जेनिशले प्रदर्शनका बेला घाइतेलाई उद्धार गरेर एम्बुलेन्समा पुर्याउने जिम्मेवारी पाएका थिए । सोही प्रयोजनका लागि उनले वाकिटकी बोकेका थिए, जसलाई मेडिकल टिम र एम्बुलेन्ससँग निरन्तर सम्पर्कमा रहन प्रयोग गरिएको थियो ।
यसरी भाइरल तस्वीरले धेरैलाई शंका र प्रश्न खडा गरे पनि, वास्तविकतामा जेनिशको कालो पोशाक आन्दोलनमा हिंसा होइन, उद्धार अभियानसँग जोडिएको रहेछ ।