Harsamaya
१११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.७० अंकले बढेर २ हजार ६ सय २३.७० बिन्दुमा उक्लेको हो । गत बिहीबार हालसम्मकै उच्च १६० अंक घटेको नेप्सेले आइतबार फेरि वृद्धिको बाटो तर्फ उकालो लागेको हो ।

आज कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । १ लाख ८ हजार ९ सय ८ पटकको कारोबारमा २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच भएर ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनमा बढेको हो ।

यसदिन सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स र सिवम सिमेन्ट लगायतका अधिकांश कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर ६७९.८० रुपैयाँमा अन्तीम कारोबार भएको छ । 

भुगोल इनर्जीको सेयर मूल्य पनि १० प्रतिशतले बढेर ६३४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पीको सेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घटेर ७३१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी हिमालयन एभ्रेष्ट बैंकको सेयर मूल्य ५.६६ प्रतिशतले घटेर ५२८.३३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

यसअघि जेनजी आन्दोलन पश्चात बन्द रहेको सेयर कारोबार बिहीबार देखि पुनः सञ्चालनमा आएको थियो । कारोबार सुरु भएको पहिलो दिन बजार निरन्तर ओरालो लागिरहेको थियो ।

बिहीबार बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । पहिलो सर्किट ब्रेकपछि फेरी खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि सेयर कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेट जाँदा फेरी  नेप्से १ प्रतिशतले घटेको थियो । जसले गर्दा उक्त दिन बजारमा कुल ६ मिनेटजति मात्रै कारोबार भएको थियो । उक्त दिन नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update