Harsamaya
आज पितृपक्ष समापन गरिँदै, सकियो सोह्रश्राद्ध

काठमाडौं - आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्ड दान गरी समापन गरिँदै छ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ ।

पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ । 

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथि सोह्र श्राद्धमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपालीजस्ता श्राद्धहरू प्रचलित छन् । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update