Harsamaya

मुगु - कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।

स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९÷८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए । उनका अनुसार हाल निर्माण भएका भवनहरू पनि जिर्ण बन्दै, वरिपरि झाडीले ढाक्दै लगेका छन् ।

अस्पताल सञ्चालनमा आउँदा सहजै स्वास्थ्य उपचार पाइने आशामा स्थानीयले छ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको जग्गासमेत चन्दा दिएका थिए । तर, हालसम्म अस्पताल सञ्चालनमा नआएपछि उनीहरू निराश भएका छन ्। जग्गादाता पुन्य रोकायाले “अस्पताल बन्ने भएपछि धेरै आशा थियो, तर अहिले अलपत्र परेको देख्दा दुःख लाग्छ” भने ।

स्थानीय बासिन्दा राजेन्द्रबहादुर शाही र तेजबहादुर मल्लले पनि अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै थप बजेटको व्यवस्था नगर्दा राज्यको करोडौं लगानी खेर गएको बताए । उनीहरूले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले सहकार्य गरेर बजेट उपलब्ध गराई अस्पताल सञ्चालनमा ल्याउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । -दान बहादुर बुढा

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update