Harsamaya
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन। 

बाजुरा - बाजुरामा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रम गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।

चाडपर्व लक्षित सुपथ मुल्य पसल देशभरी सञ्चालनमा ल्याइएको छ । सोही अनुरुप बाजुरामा पनि सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट बाजुराका प्रमुख उमेश भण्डारीले बताए ।

उनका अनुसार, मार्तडी र कोल्टी डिपोमा सुपथ मुल्य पसल सञ्चालनमा आएको बताएका छन् ।

शाखा कार्यालयबाट चामल र चिनी सहुलियत मूल्यमा बिक्रीवितरण सुरु गरिएको कार्यालय प्रमुख भण्डारीले बताएका छन्।

मार्तडीबाट चामल र चिनी दुवै सहुलियत मुल्यमा बिक्रीवितरण भइरहेको र कोल्टीबाट चामल मात्रै बिक्रीवितरण भइरहेको उनको भनाइ छ ।

चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन भएसँगै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने भएको छ ।

अरुवा मोटा चामलको साविकको मूल्य प्रति के.जी. ६२ रहेकोमा ५ रुपैयाँ छुटमा अहिले प्रतिकेजी.५७ मा किनबेच भइरहेको छ जसमा २५ केजी कट्टाको चौध सय २५ पर्ने भएको छ ।

त्यस्तै स्टिम जिरा मसिनो चामलको साविकको मूल्य प्रतिकेजी ९० रहेकोमा ५ रुपैयाँ छुट दिएर प्रतिकेजी ८५ रुपैयाँ विक्रि भइरहेको छ जसमा २५ केजी कट्टाको  एक्काइस सय २५ पर्ने भएको हो ।

चिनी साविकको मूल्य प्रति केजी १०५ रहेकोमा ५ रुपैयाँ छुट दिएर  एक सयमा विक्रि भइरहेको छ । 

सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विन्टल चामल र  २ सय क्विन्टल चिनी कोटा छुट्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।

दसैं–तिहार, छठ पर्व लक्षित सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल कार्तिक १० गतेसम्म चल्ने भएका छन् ।

त्यस्तै विक्री केन्द्रबाट पनि  सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। विक्रि केन्द्रबाट केही कारणवस् सञ्चालन हुन सकेको छैन् ।

अस्थायी बिक्री केन्द्र घट्मुना, धुलाचौर, बिच्छ्या हिमाली र पाण्डुसैनबाट पनि सुपथ पसल सञ्चालन हुने भएका छन् । बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालनको लागी  समितिको बैठक बसेर कोटा निर्धारण गरी चामल ढुवानी भएपछि  सुरु हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update