Harsamaya
प्रहरी प्रभाग पुनः स्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाइ

काठमाडौं - जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबै जना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  । प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैँले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् ।

सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए ।

उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली भएर सरसफाइ गरिरहेका छौँ। ट्राफिकहरु सवारी आवतजावत व्यवस्थापनको लागि एकदमै जरुरी छ । स्थानीयहरूले अग्रता देखाउनु भएको छ र उहाँहरूकै अग्रतामा हामी काम गरिरहेका छौ । यसले सकारात्मक नै सन्देश जान्छ भन्ने लाग्छ ।’

यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरू पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनका अनुसार प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाइको अभियान सुरु गरेको बताए ।

उनले भने, ‘आन्दोलनमा नहुनुपर्ने कुराहरू भयो । तर त्यसले गरेको विनाशलाई भने सफाइ गर्नुपर्छ भनेर आजको कार्यक्रम गरेका छौ । यहाँ स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाइको अभियानमा जुटेका हौँ । प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ सबै लागेका हौँ ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update