
काठमाडौँ - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ ।
महासंघले कानूनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित हुनु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानूनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
त्यस्तै, रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजश्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायहरूले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।
देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवाहरू तथा सुरक्षा निकायहरू संविधानको रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ ।
उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजश्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ। ‘सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्यमार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
साथै यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजी पुस्तासँग अपील गर्दै युवाको चाहनाअनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवद्र्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ ।