
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई राजाको शासनभन्दा पनि बढी दमनकारी भएको आरोप लगाउँदै तत्काल कांग्रेसले सत्ता त्याग्नुपर्ने बताएका छन्।
सोमबार चीन भ्रमणमा रहेका कोइरालाले हर समयसँग कुरा गर्दै जेनजी युवाहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको गोली प्रहारले अधिनायकवादको चरम रुप देखाएको बताए ।
‘यो केवल सरकारको अलोकप्रियता लुकाउने खेल हो,’ कोइरालाले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि जेनजी आन्दोलनमाथिको दमनसम्म सबै कदम निरंकुशताकै उदाहरण हुन्।’
कोइरालाले गृहमन्त्रीको राजीनामाले मात्र समस्या समाधान नहुने भन्दै सम्पूर्ण कांग्रेसले सरकारबाट अलग हुनुपर्ने बताए।
उनले भ्रष्टाचारलाई मुलुकको सबैभन्दा ठूलो संकट ठहर गर्दै भने, ‘भ्रष्टाचार अन्त्यतर्फ गम्भीर पहल नगर्ने हो भने देश अर्को द्वन्द्वतिर धकेलिन सक्छ।’