Harsamaya
पितृलाई सम्झिँदै सुरु भयो सोह्रश्राद्ध : तर्पण-पिण्डदानमार्फत ऋणमुक्तिको यात्रा
सोह्रश्राद्ध।

काठमाडौँ - आजदेखि सुरु भएको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पितृ पक्ष (सोह्रश्राद्ध) मा दिवंगत पूर्वजलाई श्रद्धा–भक्तिपूर्वक सम्झने परम्परा प्रारम्भ भएको छ ।

धर्मशास्त्रविद्हरूका अनुसार, सोह्र तिथिसम्म श्राद्ध, तर्पण, सिदादान र पिण्डदान गरेर पितृलाई तृप्ति दिलाइन्छ, जसलाई ‘पितृ ऋणबाट मुक्त हुने अवसर’ मानिन्छ । प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म गर्नुपर्ने शास्त्रीय व्यवस्था छ ।

यो अवधिलाई ‘अपर पक्ष’ वा ‘प्रेत पक्ष’ पनि भनिन्छ। धर्मशास्त्र अनुसार, पितृले यस अवधिमा आफ्ना सन्तानबाट आशा राख्ने भएकाले श्रद्धापूर्वक गरिएको श्राद्धले तृप्ति दिन्छ भन्ने विश्वास छ ।

यदि निर्धारित समयमा श्राद्ध गर्न नसकिएमा औँसीदेखि शुक्ल पञ्चमीसम्म, कार्तिक औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्ने विकल्प शास्त्रमा उल्लेख छ ।

सोह्रश्राद्ध समाप्त भएपछि बडादसैँ (दुर्गा पक्ष) सुरु हुने परम्परा रही आएको छ, जसलाई पितृतृप्तिपश्चात् आउने जीवन-उत्सवको निरन्तरता मानिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update