Harsamaya
क्रसर व्यवसायीहरूले भने : अव्यवहारिक नीतिले उद्योग संकटमा परे
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम ।

काठमाडौं - नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम भएको थियो ।

भेलामा महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीहरूको समस्या अझै पनि सरकारको तहमा नपुगेको बताउँदै कानुनी आधारमा समाधान खोज्न सबै पक्ष एकमत रहेको उल्लेख गरे । उनले आगामी दिनमा व्यवसायीहरूको समस्या समाधानका लागि सरकारका सबै निकायसँग पहल गर्ने आश्वासन दिए ।

उनका अनुसार, ‘हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन । महासंघ लगातार लबिङ गरिरहेको छ । यसमा प्रदेश संघले पनि सक्रिय भूमिका खेल्नुपर्छ ।’उनले क्रसर व्यवसाय लामो समयदेखि नवीकरण नहुँदा मारमा परेको बताउँदै व्यवसायीहरू कर तथा दस्तुर तिर्न तयार रहेको स्पष्ट पारे । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नवीकरण प्रक्रिया तत्काल अघि बढाउन ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई ठूलो आर्थिक लाभ हुने तर्क गर्दै सरकारसँग पहल गर्न आग्रह गरेको छ । सरकारले तोकेको अव्यवहारिक दूरीसम्बन्धी मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिन भएको भन्दै महासंघले नीति पुनरावलोकनको माग पनि गरेको छ ।

अध्यक्ष न्यौपानेका अनुसार हाल क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू गम्भीर संकटमा छन् । ०७१ सालदेखि लागू मापदण्डका कारण उद्योगहरू बन्द हुन थालेका र व्यवसायी विस्थापित मात्र नभइ राज्यले राजस्व गुमाइरहेको उनले बताए । 

हालसम्म ७८० मध्ये धेरैजसो उद्योग बन्द भइसकेका छन् भने बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नसमेत नसक्ने अवस्थामा व्यवसायी पुगेका छन् ।त्यस्तै, २०७७ सालमा ल्याइएको ढुङ्गा, गिट्टी, बालुवा व्यवस्थापन मापदण्डले समस्यालाई अझ जटिल बनाएको महासंघको भनाइ छ । यसका कारण धेरै उद्योगले नवीकरण नपाएर बन्द हुनुपरेको दाबी गरिएको छ ।

सरकारी तथ्यांकअनुसार पछिल्ला चार वर्षमा उद्योगबाट संकलन हुने आयकर तथा भ्याट लगातार घट्दै गएको छ । २०७६/७७ मा १० अर्ब राजस्व संकलन भएकोमा २०७/८० मा घटेर ४.७५ अर्बमा सीमित भएको छ ।

महासंघका अनुसार ढुङ्गा, गिट्टी र बालुवा निर्यात रोकिएपछि नेपालले वार्षिक ५ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गुमाइरहेको छ । भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र बंगलादेशमा निर्माण सामग्रीको ठूलो माग भएपनि नेपालले स्पष्ट नीति नबनाउँदा निर्यात अवरुद्ध भएको व्यवसायीहरूको गुनासो छ ।

भेलामा सहभागी व्यवसायीहरूले सरकारको अस्पष्ट नीति तथा कानुनका कारण उद्योग सञ्चालनमा अवरोध भएको आरोप लगाउँदै करिब १० करोड घनमिटर ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन गरेर निर्यात गर्न सक्ने सम्भावना गुमिरहेको बताएका छन् ।

महासंघले अहिलेको संकट समाधानका लागि सरकारलाई तत्काल छलफलमा आउन आग्रह गरेको छ । वैज्ञानिक मापदण्डअनुसार उद्योग सञ्चालन गर्ने वातावरण बनाउन, बन्द भएका उद्योगलाई पुनः सञ्चालनको अनुमति दिन र खानी क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नीति पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ ।

महासंघले प्रधानमन्त्री, मुख्यसचिव, उद्योग तथा वाणिज्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको जनाएको छ । 

व्यवसायीहरूले सरकारसँग सहकार्य गर्दै प्राकृतिक स्रोत साधनको दीर्घकालीन उपयोग गर्ने नीति बनाउन आग्रह गरेका छन् । समस्या समाधान नभए उद्योग थप बन्द हुने, बेरोजगारी बढ्ने र राजस्वमा थप गिरावट आउने चेतावनी व्यवसायीहरूले दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update