Harsamaya
पर्पल फाउन्डेसनले भन्यो: मिडियामा महिला नेतृका समाचार प्राथमिकतामै परेनन्
शुक्रबार पर्पल फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको राजनीतिमा समावेशी सहभागिता र नेतृत्वका लागि संचारकर्मीहरुको भूमिका विषयक कार्यक्रम ।

काठमाडौं - मिडियामा महिलाका समाचार कम भएको भन्दै सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । शुक्रबार पर्पल फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको राजनीतिमा समावेशी सहभागिता र नेतृत्वका लागि संचारकर्मीहरुको भूमिका विषयक कार्यक्रममा सरोकारवालाहरूले चासो र चिन्ता व्यक्त गरेका हुन् । 

पर्पल फाउन्डेसनले गरेको एक अध्ययन अनुसार मिडियामा महिलाका समाचार निकै कम आउने गरेका छन् । जनवरी २०२४ देखि डिसेम्बर २०२४ सम्म चार वटा राष्ट्रिय दैनिकमा  निर्वाचित महिला जनप्रतिनिधहरूको मिडियामा उपस्थितिबारे गरेको अध्ययनमा महिलाका समाचार कम प्राथमिकतमा परेको निष्कर्ष निकालिएको हो ।

पर्पलले कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, द हिमालयन टाइम्स र द राइजिङ नेपालमा प्रकाशित एक हजार चार सय ६० समाचार अध्ययन गर्दा महिलाका विषयवस्तुका १७४ वटा समाचारहरू फेला पारेको थियो । तीमध्ये ५७ वटा नन पोलिटिकल र ११७ पोलिटिकल समाचाहरूलाई लिएर अध्ययन गरिएको थियो । 

पत्रपत्रिकाले समेटेका महिला सम्बन्धी विषयवस्तुका समाचारमा कान्तिपुरले ४२ वटा समाचार प्रकाशित गरेको थियो । यस्तै नयाँ पत्रिकाले २१, द हिमालयक टाइम्सले ३२ र द राइजिङ नेपालले ७९ वटा समाचार प्रकाशित गरेको थियो । 

राजनीतिक विषयमा समाचारमा कान्तिपुरले ३७ वटा समाचार समेटेको छ भने नयाँ पत्रिकाले १७, द हिमालयन टाइम्सले २० र द राइजिङ नेपालले ४३ वटा समाचारहरू समेटेको छ । सुशासनका विषयमा महिलाकाबारे नयाँ पत्रिकाले एक, द हिमालयन टाइम्सले ६ र द राइजिङ नेपालले १४ वटा समाचार छापेका थिए । यस्तै वातावरणमा नयाँ पत्रिकाले एक र द राइजिङ नेपालले एक वटा समाचार प्रकाशित गरेका थिए । 

शिक्षासँग सम्बन्धित समाचारमा कान्तिपुरले तीन, नयाँ पत्रिकाले दुई र द राइजिङ नेपालले ६ वटा समाचार प्रकाशित गरेको थियो । विकाससँग सम्बन्धित समाचारमा कान्तिपुरले एक, नयाँ पत्रिकाले एक, द हिमालयन टाइम्सले पाँच र द राइजिङ नेपालले १३ वटा समाचार प्रकाशित गरेका थिए । यस्तै कला र संस्कृतिसँग सम्बन्धित समाचारमा द राइजिङ नेपालले तीन वटा समाचार प्रकाशित गरेको थियो । 

१७४ वटा समाचारमूलक सामग्रीमध्ये समाचार ९३ प्रतिशत अर्थात १६१ वटा थिए भने सम्पादकीय दुई वटा, अन्तर्वार्ता चार वटा ओपेड सात वटा थिए । ती समाचारमध्ये संवाददाताले लेखेका समाचारहरू ७३ प्रतिशत थिए भने पुरुष पत्रकारले लेखेका समाचारहरू २२ प्रतिशत र महिला पत्रकारले लेखेका समाचारहरू पाँच प्रतिशत भएको सो अध्ययनमा उल्लेख छ । 

यो तथ्याकंलाई आधार मान्दा मिडियामा महिलाका समाचारहरूले कम स्थान पाएको कार्यक्रममा सहभागीहरूले विचार राखेका छन् । अछामकी सरस्वती रावलले राजनीति पद, पावर र पैसाले  चल्ने हुँदा मिडिया पनि सोही कुराबाट प्रभावित भएको आरोप लगाइन् । नेकपा माओवादी केन्द्रबाट राजनीति गरेकी उनले पत्रकारहरूले पैसा नभई समाचार नलेख्ने गरेको आरोप लगाइन् ।

त्यसको खण्डन गर्दै पत्रकार घनश्याम खड्काले पैसा लिएर समाचार लेख्ने पत्रकार नै नभएको ठोकुवा गरे । ‘पत्रकारले कहिल्यै पैसा हेर्दैन’ उनले भने, ‘जो पैसा लिन्छ उ पत्रकार नै होइन ।’ उनले पत्रकारितालाई त्यसरी नबुझिदिन पनि आग्रह गरे । कान्तिपुर टिभिका सम्पादक विजय पौडेलले पछिल्लो समय मिडिया महिलामैत्री हुँदै गएको बताए । 

नेकपा एमालेकी नेतृ कालिका पाठकले पनि महिलालाई उपमा सिमित गर्दा समाचारहरू नआउने धारणा राखिन् । स्थानीय तहहरूमा अध्यक्षको समाचारहरू आउँदा उपको समाचारहरू निकै कम आउने गुनासो गरिन् । ‘कसलाई कति बाँड्ने कति दिने भन्ने अध्यक्षको तजबीज हुन्छ’ उनले भनिन् ‘उपाध्यक्षहरू काममा खटिएको खटिएकै हुनाले उनीहरूका समाचार भने मिडियाका प्राथमिकतामा खाशै पर्दैनन् ।’ 

सहभागी पत्रकारहरूले समाचार उत्पादनको एउटा चेन हुने हुँदा सम्पादहरूलाई नै यस्ता विषयमा छलफलका लागि बोलाउनु पर्ने बताए ।

पर्पल फाउन्डेसनकी सञ्चालक समिति सदस्य सिर्जना काफ्लेले समाचार कक्षसम्म पुगेर महिलाका समाचारलाई प्राथमिकता दिन आग्रह गर्ने योजा रहेको सुनाइन् ।

सञ्चालक समिति सदस्य नानीमैयाँ थापाले महिलाका समाचारहरू मिडियामा आएमात्रै महिला सशक्तिकरण सम्भव हुने बताइन् । ‘म महिला अधिकारकर्मी हुन्छु नागरिक समाज हुन सक्दिन’ उनले भनिन् ‘यो समाजले मलाई हेर्ने दृष्टिकोण नै बायस छ ।’ यसलाई हटाउन पनि पत्रकारहरूले भूमिका खेल्नुपर्ने उनको धारणा छ । 

पर्पल फाउन्डेसनको पत्रकार र राजनीतिज्ञसँगको अन्तरक्रियामा ३२ जनाको सहभागिता थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update