
काठमाडौं - नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो (Lenin Peak)को दुई पटक सफल आरोहण गरेका छन् ।
मध्य एसियाको प्रतिष्ठित ट्रान्स अले दायरा क्षेत्रको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरोको दुई पटक सफल आरोहण गर्न सफल भएका हुन् । शेर्पाले यो हिमाल ७ अगस्ट र २६ अगस्टका दिन गरी दुई पटक सफल आरोहण गरेका हुन् ।
‘मैले ७ अगस्ट र २६ अगस्ट गरेर दुई पटक लेनिन चुचुरोको सफल आरोहण गर्न पाएँ,’ शेर्पाले भने, ‘मेरो पर्वतारोहण यात्रामा निकै रोमाञ्चक र चुनौतीपूर्ण अनुभव रह्यो।’
लेनिन चुचुरो, जसलाई Lenin Peak भनेर पनि चिनिन्छ, समुद्री सतहबाट ७ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छ ।
किर्गिस्तान र ताजिकिस्तानको सिमानामा रहेको ट्रान्स अले पर्वत श्रृंखलाको सबैभन्दा अग्लो शिखर हो । यो हिमालको पहिलो सफल आरोहण सन् १९२८ मा भएको थियो, र त्यसयता यो विश्वभरका पर्वतारोहण प्रेमीहरूबीच लोकप्रिय गन्तव्य बन्न पुगेको छ ।
दारिन्जी शेर्पाको यो उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान सशक्त बनाएको छ । लेनिन चुचुरो प्राविधिक रूपमा अत्यन्तै कठिन पर्वत नमानिए पनि, यसको उच्च उचाई, अप्रत्याशित मौसम र लामो आरोहण मार्गका कारण चुनौतीपूर्ण मानिन्छ ।
शेर्पाको सफलता नेपाली पर्वतारोहण समुदायका लागि प्रेरणादायक बन्न पुगेको छ । यसैगरी दारिन्जीसँग पाँच पटक सगरमाथा आरोहण गरेको अनुभव समेत छ ।