काठमाडौं - नेपाललगायत विश्वभर मासुमंश वा तामासिक खानपानमा रमाउनेहरूको सङ्ख्या ठूलो छ । त्यस्तै अर्का थरी मानिसहरू पनि छन् जो सीमित र सन्तुलितत खानेकुरा खान्छन् र त्यसैमा रमाउने गर्छन् । उनीहरू शाकाहारी भोजनमा अभ्यस्त हुन चाहन्छन् ।
शुद्ध शाकाहारीहरूले सेवन गर्ने खानेकुरालाई भेगन डाइट भनिन्छ । अहिले विश्वभर यस किसिमको खानेकुरा खानेहरूको सङ्ख्या बढ्दो छ । यसले शरीरलाई मात्र होइन, भावनालाई पनि शुद्ध बनाउँछ भन्ने मान्यता छ ।
केही समयदेखि नेपालमा पनि भेगन बन्ने नयाँ अभ्यासको विकास भइरहेको छ । उनीहरूले मासुजन्य परिकार मात्र होइन दूधजन्य परिकार समेत खाँदैनन् । मासुजन्य र दूधजन्य खानेकुरा शरीरमैत्री नभएको भेगनहरुको तर्क छ । अहिले भेगन डाइटका लागि छुटै रेस्टुरेन्टसमेत सञ्चालन भएका छन् ।
तीज नजिकिँदै गर्दा दर खान भेगनहरु पनि व्यस्त छन् । सोही क्रममा काठमाडौंको ठमेलस्थित पहिलो नेपाली भेगन लभिङ हार्ट रेस्टुरेन्टमा पनि तीज विशेष दर कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा उपस्थित भेगनहरु कुनै पनि चाडपर्व, माछा, मासु, दही दूध, घिउको प्रयोगविना खल्लो हुन्छ भन्ने भाष्यलाई आफूहरूले चिरेको बताउँछन् ।
१२ वर्ष लभिङ हार्ट रेस्टुरेन्ट सञ्चालन गरिरहेकी सञ्चालक सामु योञ्जनले एक छाकमा एउटा प्राणीको हत्या हुने भएकाले आफूले रेस्टुरेन्टमार्फत एक छाक खुवाउँदा एउटा प्राणीको हत्या हुनबाट जोगिन्छ भन्ने उद्देश्यले रेस्टुरेन्ट खोलेको जानकारी दिइन् ।
पहिला रेस्टुरेन्टमा आउनेहरूले भेगनबारे बुझेका हुँदैनन् । जसका कारण विभिन्न किसिमका टीकाटिप्पणी गर्ने गरेको बताउँदै पछिल्लो समय भेगनबारे धेरैजसो जानकार भएको बताइन् ।
उनले भनिन्,‘आगामी पुस्तालाई अहिंसाको बाटोमा हामीले नै लैजानुपर्छ । ११–१२ वर्ष भयो यो रेस्टुरेन्ट खोलेको । यो नेपालको पहिलो भेगन रेस्टुरेन्ट पनि हो । एक छाकमा एउटा प्राणीको हत्या हुन्छ । मैले एक छाक खाना एउटा व्यक्तिलाई यहाँ खुवाउँदा एउटा प्राणीको हत्या हुनबाट जोगिन्छ । त्यो उद्देश्यले खोलेको पनि हो । पहिला मैले रेस्टुरेन्ट खोल्ने बेलामा धेरै थिएन । तर अहिले धेरै मानिसलाई थाहा भयो । भेगन के हो र किन हुनुपर्छ भन्ने बुझेको छन् जस्तो लाग्छ ।’
त्यस्तै उनले दरमा नरिवलको दुधबाट खिर, भट्मासको दुधबाट दही, बदामको दहीबाट पनिर बनाइएको बताइन् । हिंसारहित माछा र मासु पनि पाउने बताउँदै उनले हिंसाबाट टाढा रहनुपर्ने धारणा राखिन् ।
यस्तै,दर कार्यक्रममा सहभागी कलाकार सरिता राजोपाध्यायले भेगनले मानिसको मनमा सकारात्मक उथलपुथल ल्याउने बताइन् । मानिस सबैभन्दा उत्कृष्ट रचना भएका कारण पनि करुणा र दयाले भेगन हुनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘भेगन त्यो हुन्छ जसले बुझ्छ । जब बुझ्छ तब एउटा सच्चा मान्छे छ भने उसको मनमा उथलपुथल नै ल्याउँछ । माछा मासु नखाई चाडपर्व हुँदैन । यो एकदमै मिठो खानेकुरा हो जसले भन्नुहुन्छ, उहाँहरूलाई देखेर दया लाग्छ । कसैको शरीरमा खानु भनेको राम्रो कुरा होइन । त्यो शरीर भनेको मेरो पनि हो, मेरो परिवारको पनि हो । तर उसको शरीर चाहिँ किन खाने, उत्कृष्ट रचना मानव तर खोइ त करुणा खोइ दया ? जसले भाकल गरेर बली दिने गर्छन् । उहाँहरूको पाप चाहिँ कसरी कट्छ भनेर डर लाग्छ ।’
यस्तै अर्की भेगन सरिता श्रेष्ठले मासुसाथै डेरी प्रडक्टहरू खाने भनेको गौहत्यामा संलग्न हुनु भएको बताइन् ।
‘भेगन भनेको आफू बाँच्नको लागि कुनै पनि जनावरहरूलाई प्रयोग नगर्ने हो । बाँच्नको लागि अरूमाथि किन हिंसा गरौँ । अहिले हामीले मासुको मात्र कुरा नगरौँ । डेरी प्रडक्टहरू र दूधहरू खाने गर्ने भनेको त गौहत्यामा संलग्न हुनु जस्तो लाग्छ । त्यसैले म चाहिँ त्यसमा संलग्न हुन सक्दिन भन्ने सोचेर भेगन भएको हुँ,’उनले भनिन् ।
शुद्ध र निराहार व्रत बस्नुपर्नेमा अघिल्लो दिनमा मासु खाएर भोलिपल्ट व्रत बस्नाले फलिफाप नहुने उनको बुझाइ छ । उनले भनिन्,‘तीजको व्रत एकदमै शुद्ध हुनुपर्ने हो जस्तो लाग्छ । निराहार व्रत त अहिले पनि बस्छन् । तर अघिल्लो दिन मासु खाएर बस्छन् । त्यो त आफ्नो चेतनाले पनि सोच्नुपर्ने कुरा हो । कुनै नराम्रो काम गरेर अनि पुण्यको काम गर्दै छ भने त्यो फलिफाप पनि हुँदैन । त्यसैले सँधैभरी हामी शुद्ध शाकाहारी हौँ ।’
त्यसै गरी दीपेश श्रेष्ठ भेगन कुनै पनि प्रडक्टको लागि जनावरलाई शोषण गरेको छ भने पैसा हालेर म सपोर्ट गर्दिन भन्ने फिलोसफी रहेको दाबी गर्छन् । ‘भेगन डाइट भन्दा पनि यो फिलोसफी हो । यसमा कुनै पनि प्राणीको शोषण नगरी आफ्नो जीवन बिताउनुपर्छ भन्ने हो । यसमा कुनै पनि प्रडक्टको लागि जनावरलाई शोषण गरेको छ भने पैसा हालेर म सपोर्ट गर्दिन गर्ने फिलोसफी पनि हो यो,’उनले भने । पर्वहरूमा रमाइलोका लागि कुनै पनि पशुको हत्या गर्न नमिल्ने उनको बुझाइ छ ।