Harsamaya
एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : खनाल
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ।

काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै यो अत्यन्तै आत्मघाती र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको बताए ।

उनले भने, ‘कुनै पनि देश, सङ्गठन वा संस्थासँग सन्धि वा सम्झौता गर्दा अथवा अनुदान लिँदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनलाई समेत ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर लिनुपर्छ । संविधान र राष्ट्रिय हित विपरित कुनै पनि सर्तहरूलाई स्वीकार गर्नु हुँदैन । यसमा त दर्जन, दर्जन, दर्जनौँ सर्तहरू छन् । फेरि एउटा कागजात मात्र होइन, दर्जनौँ कागजातमा समावेश गरिएको छ ।

१३ वटा कागजात त मैले पनि समाते तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्ताबेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्ताबेजमा त्यो किन लेख्नुपर्‍यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात हो ।’

यस्तै, उनले साना वा ठूला कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नहुने भए पनि एमसीसीका प्रतिनिधिले यही आएर धम्काइसकेपछि देशका लालची नेताहरू लुरुक्क परेर सही गरेको बताए ।

उनले भने, ‘साना वा ठूला, कमजोर वा शक्तिशाली कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाब, धाक र धम्कीसामु झुकेर गर्नुहुन्न । त्यो राष्ट्रिय आत्म समर्पणवाद हुन्छ । एमसीसीका प्रतिनिधित्वले यही आएर धम्काइसकेपछि हाम्रो देशका लालची नेताहरू लुरुक्क परेर सही गरेका हुन् । यो आत्म समर्पणवादी चिन्तनको परिणाम हो ।’

साथै, उनले एकाध व्यक्तिहरूको लहर, निजी स्वार्थ, गुट स्वार्थ र पारिवारिक स्वार्थका आधारमा समेत यस्ता सम्झौताहरू हुने गरेको पनि बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update