काठमाडौं - काभ्रेको बनेपा नगरपालिका–४ थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रा लि ले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।
मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो ।
सगरमाथा ग्यास उद्योग प्रा लि का सञ्चालक सावरमल अग्रवालका अनुसार आफ्नो वार्षिक कार्यतालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।
‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर यस वर्ष नष्ट गरेका हौँ । हाम्रो वार्षिक कार्यक्रम अनुसार एक वर्षमा सङ्कलित यस्ता सिलिन्डर नियमित नष्ट गर्दै आइरहेका छौँ,’ अग्रवालले भने,‘हाइड्रोलिक परीक्षण फेल भएका, म्याद गुज्रिएका र कुच्चिएका सिलिन्डरहरू अत्याधुनिक मेसिनको सहायतामा डिस्पोजल गर्ने गरेका छौँ ।’
दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रा लि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको सञ्चालक अग्रवालले जानकारी दिए ।
सिलिन्डर ग्यास विस्फोट हुनुको कारण सिलिन्डरको कारण मात्र नभए रेगुलेटर र पाइप पनि प्रमुख कारण हुने उनले बताए । ‘ग्यास विस्फोट हुनुमा सिलिन्डर मात्र दोषी हुँदैनन् । रेगुलेटर र पाइपमा पनि ध्यान दिनुपर्छ । हामीले प्रत्येक डिपोहरूलाई सचेत गराउँदै आइरहेका छौँ । प्रज्वनशिल र संवेदनशील वस्तु भएकाले सचेत भएर काम गर्न भनेका छौँ,’ उनले भने ।
सगरमाथाले आइतबार नेपाल आयल निगम, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता अधिकार अध्ययन मञ्चका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सिलिन्डर नष्ट गर्ने काम सुरु गरेको हो ।

