काठमाडौं - काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस वर्षको कुशे औंसी अर्थात पितृऔँसीका अवसरमा लाग्ने मेलालाई भब्य र व्यवस्थित बनाउनेगरी तयारी गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित वातावरणमा श्राद्ध गर्नेगरी वातावरण मिलाइएको व्यवस्थापन समितिको दाबी छ ।
गोकर्णेश्वर नगरपालिका-४ भित्र पर्ने मन्दिर क्षेत्रमा गोकर्णेश्वर महादेव क्षेत्र व्यवस्थापन समितिले शान्ति सुरक्षा, यातायात, फोहोर व्यवस्थापन, खोजतलास र आर्थिक व्यवस्थापनजस्ता उपसमितिहरू गठन गरी विगत १५ दिनदेखि निरन्तर तयारी गरिरहेको उक्त वडाका अध्यक्ष जयराम महतले जानकारी दिएका छन् ।
उनले भने, ‘मन्दिर गोकर्ण नगरपालिका वडा नम्बर ४ भित्र पर्छ । हामीले लगभग १५ दिन अगाडिदेखि नै तयारी गरिरहेका थियौं । विभिन्न चरणमा बैठकहरू बस्ने, संघसंस्थालाई बोलाएर जिम्मेवारी तोक्ने कामहरु गरेका थियौं । यसपाली दुई दिन औँसी परेकाले भक्तजनहरुको उल्लेख्य सहभागिता रहनेभएकाले पनि तयारीलाई भब्य बनाएका हौं ।’
यस्तै, उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्काउट, ग्रीन आर्मी, विभिन्न संघसंस्था र स्थानीय युवाको सक्रियतासहित भक्तजनलाई सहज सेवासुविधा उपलब्ध गराउन खटाइएको पनि बताए ।
साथै, यात्रु खोजतलास समिति पनि गठन गरिएको उनले जानकारी दिए । भक्तजनलाई सुरक्षित रूपमा श्राद्ध सम्पन्न गर्न यातायात र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए ।
ट्राफिक एवम यातायात व्यवस्थापन, फोहोर व्यवस्थापन समितिहरू खडा गरेरै काम अघि बढाएको पनि उनले जानकारी दिए ।
मन्दिरको चारैवटा ढोका खुला गरेर भीड व्यवस्थापनका लागि लाइन प्रणाली लागू गरिएको भन्दै स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्थामा तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले फोकल पर्सन तोकिएको बताए ।
उनका अनुसार भक्तजनहरूले गर्ने श्राद्ध कर्मका लागि समितिमा दर्ता भएका २१ जना पुरोहित स्थायी रूपमा खटाइएका छन् ।
यसबाहेक स्थानीय ब्राह्मण पुरोहीतहरू समेत सहयोगमा छन् । कतिपय भक्तजन आफ्नै पुरोहीतहरु लिएर आउने तर नल्याउने भक्तजनका लागि समितिका पुरोहितहरूले सेवा दिने व्यवस्था गरिएको छ । पुरोहीतहरूको छनोट धार्मिक प्रक्रिया र अन्तर्वार्तामार्फत गरिएको छ ।
व्यवस्थापन खर्चका लागि भक्तजनबाट प्रति व्यक्ति डेढ सय रुपैयाँ संकलन गरिनुको साथै बजार क्षेत्रमा राखिएका स्टल भाडाबाट पनि रकम संकलन गरिएको पनि उनको भनाई छ ।
उनले विगत वर्षको हिसाबमा मात्रै दैनिक खर्च करिब चार लाख ४० हजार रुपैयाँ पुगेको हुनाले खर्च धान्न आन्तरिक स्रोत पर्याप्त नभएकाले थप सहयोग आवश्यक रहेको बताए । स्टल, पुरोहित र भक्तजनहरुबाट संकलित रकमले मेलामा केही सहयोग हुने बताए ।
गोकर्णेश्वर महादेव मन्दिर प्राचीन कालदेखि पितृमोक्षका लागि प्रसिद्ध छ । धार्मिक ग्रन्थमा यसलाई उत्तरगया र उत्तर वाहिनी क्षेत्रका रूपमा वर्णन गरिएको छ ।
मान्यताअनुसार गोकर्णमा श्राद्ध गरेपछि मात्र काशी वा गया गएर श्राद्ध गर्दाको जस्तै पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रही आएको छ ।
जसका कारण ७७ वटै जिल्लाबाट भक्तजनहरू आफ्ना पितृहरूको उद्धारको निम्ति यहाँ उपस्थित हुने गरेका छन् । गत वर्ष झण्डै चार लाख भक्तजन उपस्थित भएका थिए भने यस वर्ष पनि त्यही हाराहारीको भीड हुने अपेक्षा गरिएको छ ।
तर, व्यवस्थापनका चुनौतीहरू प्रशस्त देखिएका छन् । मन्दिर क्षेत्र पुरातात्त्विक सम्पदा अन्तर्गत पर्ने र आसपासको क्षेत्र साँघुरो साथै बढ्दो बसोबास र साना संरचनाले व्यवस्थापन कठिन देखिएको छ ।
निजी जग्गा खरिद वा क्षतिपूर्ति दिएर थप क्षेत्र व्यवस्थापन गर्ने प्रयास भएपनि तत्काल सफल हुन नसकेको समितिको भनाइ छ । भीड, सरसफाइ र संरचनागत अभावलाई चुनौतीका रूपमा लिई व्यवस्थापन समिति, स्थानीय बासिन्दा, बुद्धिजीवी, संघसंस्था, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन् ।
मन्दिरमा पितृऔँसीका दिन हुने यस ठूलो धार्मिक भेलालाई भक्तजनहरूको विश्वास र आस्थासँग जोडिएको गौरवको अवसरका रूपमा लिइएको छ । -सबिता नयाँजू