Harsamaya

काठमाडौं - तपेन्द्र रावल नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन क्षेत्रको सुधार र प्रवद्र्धनमा सक्रिय छन् ।

नवलसिंह रावल फाउन्डेशनका अध्यक्षसमेत रहेका रावलले विशेषतः समग्रं नेपालको पर्यटन विकास तथा ऐतिहासिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन् । रावलले नेतृत्व गरिरहेको एउटा महत्वपूर्ण अभियान हो – बलदेव शाह (बाँकावीर) लाई नेपालको पहिलो सहिद घोषणा गर्ने ।

बाँकावीरका बारेमा ऐतिहासिक आधार प्रस्तुत गर्दै उनले भने,‘नेपालका प्रथम सहिद भनेर लखन थापा चिनिन्छन् जसको हत्या तत्कालीन राणा सरकारले १९३३ सालमा गरेको थियो । त्योभन्दा करिब २८ वर्ष अघि १९०६ सालमै बलदेव शाहलाई राणा सरकारले मारेको थियो । तर सुदूरपश्चिम राजधानीबाट टाढा परेकाले राणा शासन विरुद्ध लड्ने बाँकाविरको योगदानलाई बेवास्ता गरियो ।’

सरकारले गरेको यस ऐतिहासिक अन्यायलाई सच्याउने र बाँकाविरलाई चिनाउने प्रयास स्वरुप फाउन्डेसनले कैलालीको मोहन्याल गाउँपालिका ७, स्थीत बाँका भन्ने स्थानमा बलदेव शाहको शालिक स्थापना गरेको छ । साथै सूदूरपश्चिम प्रदेश सरकारले समेत बाँकाविरलाई नेपालको पहिलो सहिद घोषणा गर्ने निर्णय गरी संघीय सरकारलाई प्रस्ताव पठाइसकेको उनले बताए ।

समान हवाई भाडादर हुनुपर्ने माग
रावलले नेपालमा विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर हुनुपर्ने माग राख्दै आएका छन् । नेपाली र विदेशी पर्यटक बिच भएको हवाई भाडादरको विभेदप्रति उनले कडा रुपमा आपत्ति जनाउँदै त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छन् । सर्वोच्चले उक्त रिटमा आजै बहस गर्न लागेको उनले बताए ।

‘एउटै जहाजमा नेपाली सँगैको सिटमा बसेका विदेशीले धेरै भाडा तिर्नुपर्ने अवस्था उचित होइन । यो विभेदले विदेशी पर्यटकलाई काठमाडौं, पोखरा र चितवन जस्ता सीमित क्षेत्रमै सीमित राखेको छ । नेपालमा घुम्नयोग्य थुप्रै स्थान छन्, तर अत्याधिक भाडादरका कारण विदेशी पर्यटकहरु सूदूरपश्चिम लगायतका पर्यटकीय गन्तव्यमा पुग्न सकेका छैनन् ।’

सरकारले हवाई भाडादरको असमानता हटाएर पर्यटनमैत्री नीति अवलम्बन गर्नुपर्ने रावलको माग छ । यसले मात्र नेपालको वास्तविक पर्यटन सम्पदामा विदेशीको पहुँच र चाासो बढ्न सक्छ  ।

यस विषयमा नवलसिंह रावल फाउन्डेसनले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उनले नेपालमा विदेशीलाई सहज र सरल तरिकाले घुम्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न विभिन्न भाषाका गीतलाई माध्यम बनाएँ
सुदूरपश्चिमको कैलालीमा जन्मिएका रावलले आफ्नो क्षेत्रको प्राकृतिक सौन्दर्य, भाषा, संस्कृति तथा भौतिक संरचनालाई प्रवद्र्धन गर्न विभिन्न भाषाका गीत–संगीतलाई पनि माध्यम बनाएका छन् ।

स्थानीय संस्कृतिलाई उजागर गर्दै उनले नेपाली, अछामी, थारु, हिन्दी, अंग्रेजी, र चीनीयाँ भाषमा समेत विभिन्न गीतहरू तयार पारेर पर्यटन आकर्षणमा सहयोग पुर्याइरहेका छन् । सुदुरपश्चिममा भएको सौन्दर्य प्राकृतिक तथा त्यहाँ बोलिने भाषा भौतिक संरचना आदिलाई गीतमार्फत सुनाउँदै र भिडियोमार्फत देखाउदै त्यहाँको पर्यटनमा आर्षण गरिरहेको कुरा पनि उनले जानकारी गराए । ‘पर्यटन विकासका लागि भौतिक संरचना मात्र होइन, सांस्कृतिक पक्षको जगेर्ना र प्रवद्र्धन पनि उत्तिकै आवश्यक छ,’ उनले भने ।

पर्यटन क्षेत्रको बजेट वृद्धि गर्न माग
रावलले नेपाल सरकारसँग पर्यटन क्षेत्रलाई अझ प्राथमिकतामा राख्दै उचित बजेट विनियोजन गर्न पनि माग राखेका छन् ।

‘पर्यटकीय क्षेत्र भनेको केवल चितवन वा पोखरा मात्रै होइन,’उनले भने,‘सूदूरपश्चिम सहित नेपालका हरेक क्षेत्रमा अनगिन्ती रमणीय स्थलहरू छन्, जसमा राज्यको ध्यान पुग्न सकेको छैन । यदि भाडादर समान बनाइयो भने र सहजीकरण गरियो भने ती ठाउँमा विदेशी पर्यटक पुग्न सहज हुनेछ ।’

रावलको सोच र अभियानहरू नेपालको पर्यटन क्षेत्रमा न्याय, समानता र समावेशिताको पक्षमा केन्द्रित छन् । ऐतिहासिक अन्याय सच्याउने प्रयासदेखि लिएर पर्यटनमा विदेशी–नेपाली बीचको समान व्यवहार, सुदूरपश्चिमको विकासमा सांस्कृतिक योगदान, तथा नीति निर्माणमा सकारात्मक दबाब यी सबैले नेपालको पर्यटन भविष्यलाई थप समावेशी र सक्षम बनाउने दिशामा टेवा पुर्याउँछ । आफूले उठाएका सवालहरुलाई पुरा नहुन्जेल सम्म लडिरहने प्रतिवद्धता रावलले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update