Harsamaya
मुस्ताङको तेताङमा दुर्लभ सानो उल्लु दुई बच्चासहित भेटियो 
तस्वीर: सोनाम छिरिङ्ग गुरुङ्ग

जोमसोम - मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङको नरिन खर्कमा दुर्लभ हिमाली कोचल गाडेँ अर्थात सानो उल्लु फेला परेको छ । 

उल्लु दुई बच्चासहित गोठमा देखिएको तेताङ्गका स्थानीय सोनाम छिरिङ्ग गुरुङ्गले बताए । गुरुङ्गले आफ्नो च्याङ्गग्रा गोठ भित्र आएको दुई हिमाली कोचल गाडेँको बच्चाहरुको तस्वीर आफ्नो मोबाइलमा कैद गरेका थिए । 

जसले यस प्रजातिको नेपालमा प्रजनन् अवस्थाको सशक्त संकेत गरेको छ । फ्रेन्डस अफ नेचुरल नेपालका अध्यक्ष सोम जिसी  र पूर्व राष्ट्रिय प्रकृति संरक्षण कोष ‘एनटीएनसी–एक्याप’ का संरक्षण अधिकृत ऋषि बरालले उक्त अवशेष सानो उल्लुको हुनसक्ने बताए ।

यद्यपि, सानो उल्लु पहिले पनि नेपालका केही हिमाली जिल्लाहरूबाट अभिलेखित भइसकेको छ, यस्ता पछिल्ला अभिलेखहरू वैज्ञानिक रूपमा अति महत्वपूर्ण मानिएको छ । 

विशेषतः प्रजातिको वितरण, आवास, र प्रजनन् सम्बन्धी ज्ञान अद्यावधिक गर्नका लागि नेपालमा उल्लु दुई परिवार अन्तर्गत २३ प्रजातिमा पाइन्छन् ।

तीमध्ये ‘लिटल उल’ अर्थात सानो उल्लु एक महत्वपूर्ण प्रजातिको मानिन्छ ।  जुन समुद्री सतहबाट २,७१५ मिटरदेखि ४,९५० मिटर उचाइमा पाइन्छ ।

यस्ता प्रजातिका उल्लुहरु दार्चुला, डोल्पा, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, र सोलुखुम्बु जिल्लाहरूमा देखिने गरेको विज्ञहरुको भनाइ छ ।

साथै, यस प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु–बरुण राष्ट्रिय निकुञ्ज, र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज जस्ता संरक्षित क्षेत्रहरूमा पनि पाइन्छ ।

हालसम्म नेपालमा यसलाई राष्ट्रिय रूपमा ‘कम संकटग्रस्त’ प्रजातिका रूपमा वर्गीकृत गरिएको छ । तर यसको जनसंख्या घट्दो रहेको अनुमान गरिएको छ ।

विश्वभर यसको परिपक्व जनसंख्या ५० लाखदेखि १ करोडको हाराहारीमा रहेको अनुमान छ । तर नेपालमा यसको जनसंख्या आकलन गरिएको छैन । 

उल्लुहरू नेपालमा व्यापक सांस्कृतिक एवम् मिथक र विश्वाससँग जोडिएका पंक्षी हुन् । तर, यिनको पारिस्थितिकी, वितरण र अवस्थाबारे वैज्ञानिक जानकारी सीमित छ ।

साथै, मासु, औषधीय प्रयोग र अवैध व्यापार तथा पाल्तु रूपमा राख्नको लागि पक्राउ गरिने र शिकार एक प्रमुख चुनौती बनेको छ।

विषादी प्रयोग र जनचेतनाको अभाव पनि यिनको संरक्षणमा थप जोखिमका कारण मानिएको छ । 

तेताङको पछिल्लो अभिलेखले नेपालमा संरक्षणको आवश्यकता र यससम्बन्धी थप अनुसन्धान गर्नुपर्ने आवाज उठेको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update