
काठमाडौं - आज यो वर्षको साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । हिन्दु महिलाहरूले साउने सोमबारलाई विशेष धार्मिक दिनका रूपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार व्रत बसी शिवजीको पूजा आराधना गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।
हिन्दु धर्मग्रन्थ अनुसार भगवान् शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रूपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान् शिवलाई जल र बेलपत्र चढाउने गरिन्छ । हिन्दु धर्ममा साउनलाई धर्म कर्मको महिना भनिन्छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।
साउन महिनामा सूर्य कर्कट राशिमा हुँदा चन्द्रमा सशक्त हुन्छ । सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिन शिवजीको विशेष पूजा आराधना गरिन्छ । शिवजीले चन्द्रमालाई शिरमा धारण गर्ने हुनाले चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्रमालाई मानसिक शान्ति, चित्त स्थिरता र सन्तुलित भावनासँग सम्बन्धित मानिने हुनाले यो महिना विशेष मानिन्छ ।
सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको र मनोकामना भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले यो साउन महिना वा साउनको सोमबार व्रत, दान पूजापाठ आदी गर्नाले आफूले सोचको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । शिवको आराधनाले शनि दोष, कालसर्प योग जस्ता कैयन दोष शान्त हुन्छन् भन्ने मान्यता रहेको छ ।
भगवान् शिवको पूजा तथा आराधना गर्नाले पाप नाश भई सुख, सन्तान प्राप्त हुन्छ र भक्तहरूको कल्याण हुन्छ । धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागी रुद्रीभिषेश गरी वैदिक मन्त्रोच्चारण सहित जलाधारले शिवको अभिषेक गरी शिव भगवान्लाई प्रसन्न पार्न सकिन्छ । अभिषेक र रुद्रीपाठ गर्नाले कामना पुरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।