
सुर्खेत - हुम्लाबाट बिरामी बोकेर काठमाडौंका लागि उडेको प्रभु हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।
एनजि–एएनएल कल साइनको हेलिकप्टर खराब मौसमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
हुम्लाको हिल्साबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए ।
दिउँसो २:३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको बिरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौसम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।