काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति विस्तारका लागि जोड दिनुपर्ने बताएका छन् ।
बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नाथमको जनशक्ति एकदमै महत्त्वपूर्ण रहेको भन्दै यसको माग सबैतिर बढेकाले विस्तारका लागि काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्त्वपूर्ण छ । यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन् यहीँ पनि काम पाउँछन् । नाथमलाई सरकारले सहयोग गर्न सकेको छैन अब कुन तरिकाले चलाउने भन्नेमा कठिनाइ भएको छ । यसको जनशक्ति विस्तार गर्नुपर्छ अहिले अभाव पनि छ यसको विस्तारका लागि हामी चाँडै टुङ्गोमा पुग्छौँ ।’
उनले नाथमको विस्तारमा निजी क्षेत्रका साथै स्थानीय तहलाई समेत जोड्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई त्यसमा समावेश गर्ने की स्थानीय तहलाई त्यसमा समावेश गर्ने की । नाथम ल्याउनु खोल्नु भन्ने माग सबैतिर छ । तीन तहका सरकारसँग समन्वय गरेर हुन्छ की । नाथमको जनशक्ति महत्त्वपूर्ण छ त्यसको फ्रान्ससँग दोहोरो इन्टर्नसिप चल्छ,’ उनले भने।