
काठमाडौं - शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बालविकास शिक्षाको विषयमा सहमति जुटेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले बालविकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
समिति सदस्यहरूले उक्त विषयमा सहमति जनाएसँगै शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो ।
बालविकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा बढीको सञ्चालन गर्न नपाउने गरी सहमति जुटेको हो ।
यस्तो छ सहमति:
१.स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बालविकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बालविकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनवितरण गर्न सक्नेछ ।
२. स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुने गरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ ।
३. कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दाबढीअवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन ।
४. हाल कार्यरत प्रारम्भिक बालविकास तथा शिक्षामा बालविकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्ने छैन ।