Harsamaya
नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, लुइँटेल प्रथम,पौडेल द्वितीय र खनाल तृतीय
नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता ।

काठमाडौं -  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता  सम्पन्न गरेको छ । निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय  भएका छन् ।

नारायण पौडेल र सौगात वाग्लेले सान्त्वना पुरस्कार पाएका छन् ।  प्रतियोगितामा निगमका २३ जना कर्मचारीले कविता वाचन गरेका थिए । प्रतियोगिताका विजेता कविहरूलाई प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष वरिष्ठ साहित्यकार युवराज अधिकारीले नगद पुरस्कार,प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर पुरस्कृत गरेका थिए ।   

कार्यक्रममा प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष  अधिकारीले हालै सार्वजनिक गरिएको आफ्नो कविता सङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ बाट एक कविता वाचन गरेर सुनाएका थिए ।  निगमको साहित्यिक उपसमितिका संयोजक एवम् क्वालिटी एस्योरेन्स विभागका प्रमुख पोषक ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा निगमका सबै विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो । उपसमितिले प्रतियोगितामा वाचन गरिएका कविताहरूको मूल्याङ्कन गर्न वरिष्ठ साहित्यकार डा.नवराज लम्साल, प्रा.डा. देवी नेपाल र कल्पना काफ्ले रहेको निर्णायक मण्डल गठन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update