Harsamaya
४१ वर्षपछि भारतीय अन्तरिक्षयात्राका लागि उडे 
शुभांशु शुक्ला सहित अमेरिका, पोल्यान्ड र हङ्गेरीका तीन अन्य अन्तरिक्षयात्री ।

एजेन्सी - भारतीय अन्तरिक्ष यात्राको इतिहासमा नयाँ अध्याय सुरु भएको छ। ४१ वर्षपछि भारतीय नागरिक फेरि अन्तरिक्षतर्फ उडेका छन् । यसपटक निजी अन्तरिक्ष मिसन एक्जियम-४ को हिस्सा बनेर शुभांशु शुक्ला सहित अमेरिका, पोल्यान्ड र हङ्गेरीका तीन अन्य अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) तर्फ प्रस्थान गरेका छन्।

यो व्यावसायिक अन्तरिक्ष मिसन अमेरिकी कम्पनी एक्जियम स्पेसले नासा र स्पेसएक्स सँगको सहकार्यमा सञ्चालन गरेको हो। मिशन सफल भएमा भारतको आगामी ‘गगनयान’ मिसनको ढोका अझ खुला हुने अपेक्षा गरिएको छ।

भारतले यो मिसनमा सहभागी हुनका लागि ५ करोड ९० लाख अमेरिकी डलर खर्च गरेको छ। वैज्ञानिक पल्लव बागलाका अनुसार यो मिशनले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई भविष्यको मानवयुक्त मिशन गगनयानका लागि प्राविधिक ज्ञान र अनुभव दिन महत्वपूर्ण भूमिका खेल्नेछ।

भारतका राकेश शर्माले सन् १९८४ मा सोभियत संघको मिसनमार्फत अन्तरिक्ष यात्रा गरेका थिए। त्यसयता पहिलोपटक अब भारतका प्रतिनिधि पुनः अन्तरिक्षमा छन् । तर यसपटक व्यवसायिक मोडलअन्तर्गत भारतको दीर्घकालीन योजना अझ महत्त्वाकांक्षी छ ।

भारतले सन् २०२७ सम्ममा पहिलो स्वदेशी मानवयुक्त ‘गगनयान’ मिसन, २०३५मा अन्तरिक्ष स्टेशन स्थापना र २०४० मा चन्द्रमामा भारतीय अन्तरिक्षयात्री पठाउने योजना घोषणा गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update