Harsamaya
होटलमा आउने पाहुनालाई रुद्राक्षको माला !
नेपालमा उत्पादन हुने रुद्राक्षको प्रवर्द्धनका लागि तारे होटेलहरूमा यसको प्रयोग बढाउनुपर्ने व्यवसायीहरूले बताएका छन् ।

काठमाडौं - नेपालमा उत्पादन हुने रुद्राक्षको प्रवर्द्धनका लागि तारे होटेलहरूमा यसको प्रयोग बढाउनुपर्ने व्यवसायीहरूले बताएका छन् ।

पछिल्लो समय सबै सार्वजनिक कार्यक्रमहरूमा कृषि उत्पादन रुद्राक्षलाई महत्व दिँदै उपयोग गरिरहेको पाइन्छ । पछिल्लो समय होटल मेरियट एवं होटल होलिडे इन एक्सप्रेसले तारे होटेलहरूमा नेपाली कृषि उत्पादन रुद्राक्षको मालाद्वारा होटलमा आउने पाहुनालाई स्वागत गर्नुपर्नेमा व्यवसायीहरूको जोड छ । 

पर्यटकलाई धार्मिक, सांस्कृतिक, वैदिक, स्वास्थ्यवर्धक, अलौकिक शक्तिले भरिपूर्ण भएको रुद्राक्ष माला लगाई स्वागत एवं बिदाइ गर्ने अभियानमा जोड दिइरहेको कुरा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाँईले जानकारी गराए।

सबै तारे होटेलहरूबाट अभियान पूर्णरुपमा अगाडि बढाउन सक्दा यसले नेपाली किसानलाई मद्दत पुग्ने उनको बुझाइ छ । पछिल्लो समय सरकारले बनाएको नारा ‘मेड इन नेपाल एन्ड मेक इन नेपाल’को नारालाई पूर्णता दिनको निम्ति यस्ता अभियानले सार्थकता दिन सहयोग पुग्ने कुरा अध्यक्ष चापागाँईले बताए । 

सुरुवात गर्ने क्रममा होटल मेरियटका संचालक शशी अग्रवाल र होटल होलिडे इन एक्सप्रेसका संचालक नरेशलाल श्रेष्ठलाई संघकोतर्फबाट अध्यक्ष चापागाँईले विशेष धन्यवाद दिँदै अन्य महानुभावहरूलाई यसरी नै हरेक स्वदेशी होटल, कार्यालयमा स्वदेशी उत्पादन नै प्रयोग गर्दा देशको पैसा पनि बाहिर नजाने, स्वदेशी उत्पादनको प्रचार प्रसार पनि हुने, धार्मिक एवं संस्कृति पहिचान हुने, स्वस्थवर्धक र नेपाली किसानको पनि हित हुने कुरा अध्यक्ष चापागाँईले बताए।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update