Harsamaya
चितवन राष्ट्रिय निकुञ्जभित्र असार १५ देखि ३ महिनासम्म जिप सफारी बन्द हुने

 चितवन - चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेबाट जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।

बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ । बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरू पन्छाउने र विभिन्न पुलहरूको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।

वर्षा याममा पानी बढी हुने, खोला खोल्सा बढ्ने, रुखहरू ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरहरूसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी हरेक वर्ष बन्द गर्दै आएको  छ । 

निकुञ्ज भित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी यथावत् नै सञ्चालन हुन्छ । बर्खाका तीन महिना जिप सफारी बन्द भए पनि जङ्गल वाक भने रोकिँदैन ।  निकुञ्जभित्र पैदल यात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका पर्यटकीय गतिविधि भने नियमित सञ्चालन हुने छ । 

 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update