Harsamaya

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याकाण्डमा संलग्न अपराधीलाई पक्राउ गर्नुभन्दा पनि सुरुमा अनुसन्धानको निकायले आँखामा छारो हाल्ने काम गर्नतिर लागे । दोहोरो बोल्नेलाई मुद्दा हाल्न थाले । मैँले बोलेँ, मलाई पनि मुद्दा हालिहाले । अरू एक दुई जनालाई पनि मुद्दा हालियो । सजाय पनि गरेको छ । उक्त घट्नाका सम्बन्धमा पटक पटक फेरिएका गृहमन्त्रीले शपथग्रहण गरेर जिम्मेवारी सम्हाल्ने बेला कारबाहीको प्रतिबद्धता जनाउने गर्छन् । त्यसपछि चुपचाप बसिरहने परम्परा आज पनि जारी छ । 

अहिलेका गृहमन्त्री रमेश लेखकज्यूको गृह जिल्ला पनि उतै अर्थात् सुदूरपश्चिमतिर नै हो । यस अगाडिका रवि लामिछानेले पनि अपराधी पत्ता लगाएरै छाड्ने भनेर नाम लिनुभएको थियो । नारायणकाजी श्रेष्ठले पनि नाम लिनु भएकै हो । सबै गृहमन्त्री निर्मलाको नाम र उक्त घटना प्रकरणबारे बोल्न छाडेनन् । तर कुर्सी सम्हालेपछि चाहिँ त्यो नाम लिइरहन जरुरी ठानेनन् । अनुसन्धान वा छानबिन निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने लाइनतिर उक्त मुद्दा जाँदै गएन ।

उक्त विषय राजनीति गर्ने माध्यम चाहिँ बन्यो । आम जनताप्रति सच्चा छु भन्ने देखाउनका लागि मात्र प्रस्तुत गर्ने प्रतिबद्धता जनाइयो । जनउत्तरदायी छु भनेर पब्लिकलाई देखाउने मात्र काम भयो । त्यस कारण अनुसन्धान गर्ने निकायहरू अभाव, दबाब र प्रभावविहीन हुनुपर्ने हो तर सो मुद्दामा त्यो भएन भन्ने मेरो निष्कर्ष हो । 

अनुसन्धान गर्ने निकाय अभाव, दबाब र प्रभावमध्ये एउटामा परेको हो तर कुनमा पर्‍यो चाहिँ थाहा छैन । तर त्यही कुरामा निर्मला पन्तकी आमा स्वयम आफू परिन् । उनले प्रमाण नष्ट गरियो भनेर त्यसको विरुद्धमा मुद्दा हालेकी थिइन् । थुनछेकको मुद्दाको दिनमा प्रहरी इन्स्पेक्टरको गाडीमा हालेर ल्याइयो र मैँले अरूको दबाबमा हालेको मुद्दा हो, फिर्ता पाऊ भनिन् । भनेपछि यो मुद्दामा कति ठुलो प्रभाव छ ? राज्यले कति धेरै संरक्षण दिएको छ, यहाँबाट प्रमाणित हुन्छ ।

निर्मलाको घटनामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुङ्गो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको बहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा ल्याउनुभयो । र आफ्नो जाहेरी फिर्ता लिन लगाइयो । 

त्यसैले कसैको प्रभावमा परेर निर्मलाको घटना सत्य तथ्यसहित टुङ्गोमा नपुगेको हो भन्दा दुई मत छैन । राज्यले पनि त्यो घट्नामा संरक्षण गरेको छ । प्रमाण नष्ट र यातनाको मुद्दा परेको थियो । प्रमाण नष्टमा आमामार्फत फिर्ता लिन लगाइयो । यातनामा पुनरावेदन पनि गर्न नपाइने गरी मुद्दालाई अन्तिम बनाएर टुङ्ग्याइयो । यसरी सबै सम्भावित बाटोहरू बन्द गरिएको छ । मुखले मात्रै यसलाई टुङ्गोमा पुर्‍याइन्छ भनेर कहाँ हुन्छ र ? सम्भावित बाटोहरू बन्द भइसकेको जस्तो लाग्छ । 

हामी उहाँको भन्दा पनि न्यायको पक्षमा लड्यौँ । स्थानीयहरू वा छरछिमेकहरूलाई पनि सोध्यौँ । भेला गरेर औपचारिक र अनौपचारिक रूपमा पनि सोधपुछ गरेको थियौँ । कतिपय कुरामा हाम्रो परिचय पनि नदिएर पनि सोध्यौँ । केही न केही अनायासमा भएको हो कि भन्ने लागेको थियो तर त्यस्तो लागेन । यस विषयलाई सेटल गर्नका लागि जुन मेहनत भयो त्यसपछि एउटा कमिटी गठन भएको थियो । त्यो कमिटीको एक सदस्यले दिएको राजीनामा र उसले दिएको नोट एप्लिकेसनको पेपर ती सबै कुराहरूले गर्दाखेरि त्यो केसलाई पनि डिसमिस पार्ने काम भयो ।

राज्यले संरक्षण दिनुपर्ने कारणहरू विभिन्न छन् । यसमा राजनीतिक दलकै मान्छेको संलग्नता छ । की प्रत्यक्ष या अप्रत्यक्ष रूपमा । कोही प्रत्यक्ष संलग्न होलान् भने कोही नभए पनि अप्रत्यक्ष संलग्नता हुनसक्छ । ठ्याक्कै यही हो भन्ने कुरा हाम्रो मुखले भन्ने कुरा रहेन । अनुसन्धान गर्ने निकाय र राज्यले अनुसन्धान गर्नलाई गरेको खर्चको प्रतिफल हामीलाई चाहिने हो । दुई–दुई वटा कमिटी बन्यो । एक जना डिआइजीको नेतृत्वमा कमिटी बन्यो, जसले प्रतिवेदन नै बाहिर सार्वजनिक गरेनन् । यही विषयमा प्रश्न उठ्ने गर्छ । त्यसपछि अर्को कमिटी बन्यो । आयोग गठन भएको थियो । त्यसमा सबैले राजीनामा दिएर लामो आफ्नो धारणा लेखे । ती दुई वटा कुरामा पनि राज्यले ध्यान दिएन । चलेको मुद्दामा पनि नचलाउने गरी पुनरावेदन नै गर्न नमिल्ने गरी ती मुद्दाहरूलाई टुङ्ग्याउने काम भयो । निर्मलाकी आमालाई नै जाहेरी फिर्ता लिन बाध्य पार्ने कुरा सामान्य होइन । नगरपालिकामा जागिर दिएर थामथुम पार्ने काम भयो । यी सबै घटनाक्रम र आश्वासनलाई हेर्दा घटना सामसुम पार्ने कुरा राज्यबाट  संरक्षित होइन भनेर कसरी भन्ने ?

हामी फौजदारी मुद्दामा नियमित बहस गर्ने व्यक्ति हौँ । राज्यका निकायले अन्य बिना अपराधीलाई थर्काउने प्रयत्न गर्‍यो तर खास अपराधी को हो त्यसमा मौन बस्यो । सबैलाई थाहा छ, कसैलाई थाहा छैन । यो बडो गज्जबको घटना छ । न्यायको प्रक्रिया एकदमै जटिल छ । 

कुनै दिन न्याय पाइन्छ भन्ने आशा चाहिँ छ । न्यायको प्रक्रियालाई अवरुद्ध नगरेको भए पत्ता लाग्ने अवस्था हुन्थ्यो । प्रक्रियालाई अवरुद्ध गरिसक्यो भने न्याय नै अवरुद्ध हुन्छ । तर घटनाको निचोड निस्कन्छ भन्ने आशा धेरै गर्न सकिदैन। आफूले उठाएको आवाजलाई चुप लागेर बस्ने भन्ने पनि होइन । तर यही अवस्थाले चाहिँ हुँदैन । भएका, उठेका र देखिएका विषयलाई राज्यले नदेखेको जस्तो गरेपछि कहाँबाट पत्ता लाग्छ ? गृहमन्त्री हुँदा वा कुर्सीमा बस्दा मात्र प्रतिबद्धता देखाउने कुराले पीडितले न्याय पाउँदैनन् । 

अझै पनि अगाडि आएका विषयलाई समेटेर कसैको प्रभावमा नपरी फेरि एक पटक  राम्रोसँग अनुसन्धान भयो भने अझै सत्य तथ्य कुरा पत्ता लाग्छ । यसमा धेरै वटा प्रमाणहरू जोडिएका छन् । राज्य इमानदार हुनुपर्छ । धेरै मान्छेले निर्मला हत्या प्रकरणलाई बिर्सिसके । मलाई धेरै मान्छेले सोध्ने गर्छन्, निर्मलाका बलात्कारीलाई पता लगाइस् ? तर हामीले पत्ता लगाउने भन्दा पनि खबरदारी गर्ने हो । यस घटनामा एक पटक अन्तर्राष्ट्रिय विज्ञहरू राखेर अनुसन्धान गर्नुपर्छ । सुतेको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको नाटक गरेकोलाई सकिँदैन । यहाँ राज्य सुतेको नाटक गरिरहेको छ ।

(अधिवक्ता एवं मानवअधिकारकर्मी इन्द्र अर्यालसँग गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update