काठमाडौं - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरूले नेताहरूलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए ।
नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ ।
उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौं । तर हामी तीन वर्षदेखि कहाँ छौं ? सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुदैँ पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौ । नेताहरूलाई कार्यकर्ताहरूले प्रश्न गर्न सकिँदैन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन् ।’
यस्तै, उनले आफैँ आफैँ बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैँमा चाहिँ कमजोर नभएको बताए । उनले तल्लो तहका जिल्लाबासीहरूले आफ्ना कुराहरू स्पष्ट रूपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘काङ्ग्रेस चलायमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलायमान भएको मैले कहिले पाएको थिइन । मलाई आज खुसी के कुरामा लागेको छ भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरू स्पष्ट रूपले राख्नुभयो । तर हामीहरू त्यो सुन्न तयार छैनौं, नेताहरू त्यो सुन्न तयार छैनन् ।’