
काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौँको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए ।
उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौँको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भइरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आइरहेको छ । यो कुनै सामान्य भ्रष्टाचारको घटना मात्र होइन । यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरू माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो ।’
यस्तै, उनले अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाएको भन्दै यसमा मन्त्रीको कुनै स्वार्थ भएको बताए ।
उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षक बिना गर्न सकिँदैन । अख्तियारले मुख्य आरोपी भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ । यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साँच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो ।’