Harsamaya
जनताले नै नेतालाई भ्रष्टाचारका लागि अवसर दिए : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसी ।

काठमाडौं - राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देशमा विकृति विसङ्गति आउन नेता मात्र जिम्मेवार नभई जनता पनि जिम्मेवार रहेको बताएका छन् । 

शनिबार गणतन्त्रबारे अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले चुनावबाट जनताले नेतालाई भ्रष्टाचारका लागि अवसर दिएको बताएका हुन् । 

उनले भने, ‘हाल देशमा विकृती विसङगती आउन राजनेता मात्र जिम्मेवार छन् भनेर म भन्दिन । पटक–पटक चुनावहरू हेरिरहेको छु । संसदमा पनि हेरिरहेको छु । देशलाई गलत दिशातिर लानलाई धेरै थोरै राजनीतिक पार्टी जसले जनताको अगुवाइ गर्छन्, प्रशासनमा बस्छन् । चुनावबाट आएर पाँच वर्ष भ्रष्टाचार गर्छन् । अनि त्यही पैसा लगेर फेरि चुनावमा बाँड्छन् । फेरि तीनैलाई लाइसेन्स दिएर जनताले त्यही भ्रष्टाचार गर्ने ठाउँमा पठाएको पनि हामीलाई थाहा छ ।’

उनले लोकतन्त्र र गणतन्त्र अप्ठेरोमा परेको भन्दै लोकतन्त्रवादीहरूले भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गरी हटाउनसक्ने बताए । उनले छोटो समयमा जनताको चाहना अनुरूप नेता फेरबदल गर्न सक्ने तर व्यवस्था वा संस्था परिवर्तन गर्न लामो समय संघर्ष गर्नुपर्ने बताए ।

उनले नेता, कार्यकर्ता र प्रशासनमा बस्नेहरूको चिन्ता कमाउनेमा मात्र सीमित भएकाले मुलुकले यस्तो दुर्दशा व्यहोरेको बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update