
काठमाडौं - काठमाडौंको व्यस्त र मध्य भागमा रहेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थित र परिमार्जित बन्दै गएको छ ।
नारायणहिटी संग्रालय तथा नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले जिम्मेवारी लिएसँगै व्यवस्थित बनाउँदै ई–टिकेटिङ सुरु गरेपछि संग्रहालय व्यवस्थित देखिएको हो ।
संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले अनलाइन टिकट सुरु भइसकेको र ब्रेनलिपीको सुविधा सुरु गर्न लागिएको जानकारी दिए ।
टिकटको लागि अनलाइन सुविधा छ । लाइनमा बस्ने झन्झट छैन । अपाङ्गमैत्री शौचालयको व्यवस्था गरेका छौँ । बच्चाहरूको लागि खेल्ने ठाउँको अलग्गै व्यवस्था छ । सम्भवतः नेपालमै पहिलो पटक संग्रहालयहरूका लागि ब्रेनलिपीको अवधारणा सुरु गरेका छौं, उनले भने ।
संग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशी गरी दैनिक एक हजारदेखि १२ सय आगन्तुकहरू आउने गरेको उनले जानकारी दिए । अवलोकन गर्नेमा सबैभन्दा बढी विद्यार्थीहरू आउने गरेका छन् ।
टिकटको लागि विदेशीलाई एक हजार रुपैयाँ र स्वदेशीहरूका लागि दुई सय रुपैयाँ टिकट शुल्क राखिएको साथै विद्यार्थीका लागि भने विशेष छुट रहेको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए ।
त्यसको आठ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उद्घाटने गरेका थिए ।