काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र आपराधिक उपद्रोह आफूबाट नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मिश्रले कुनै पनि अपराध नगरेको भए पनि राज्य आफू विरुद्ध लागेको बताएका हुन् ।
उनले भने, ‘राज्य विरुद्धको कसुर संगठित अपराध र आपराधिक उपद्रोह म बाट केही पनि भएको छैन मैले आज त्यति मात्रै टिप्पणी गरे । म हाजिरी जमानीमा छुटेको हुँ । त्यसमा म धेरै खुसी हुने पक्षमा छैन । किनभने राज्य म विरुद्ध लागेको छ भनेर सम्मानित अधिवक्ताहरूले पनि भनिसक्नु भएको छ ।’
साथै उनले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले जति जनधनको क्षति भयो त्यसमा समेत दुख व्यक्त गरे ।
उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु ।’
गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो । राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र आपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।