Harsamaya
आजदेखि सगरमाथा संवाद सुरु हुँदै
सगरमाथा संवाद आजदेखि सुरु हुँदै ।

काठमाडाै - नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो  ।सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने छ । 

संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रक्रिया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास गरिएको छ ।

यही जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमममा सहभागी हुन हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आएका छन् ।

काठमाडौँको सोल्टीमोडस्थित होटेल सोल्टीमा आयोजना हुने समुद्घाटन समारोहको प्रधानमन्त्री ओली आफैँले उद्घाटन गर्नुहुने तय भएको छ । विदेशी उच्च अतिथिबाट उद्घाटन गराउने भनिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका शीर्षस्थ नेतृत्वको समय नमिलेपछि उहाँ आफैँले उद्घाटन गर्नुहुने भएको हो । समुद्घाटन स्थललाई झकिझकाउ पारेर सिँगारिएको छ । सडक द्वारसँगै तुल, ब्यानरसहितको नेपालको राष्ट्रिय झन्डा फहराइएको छ ।

सगरमाथा संवादको पहिलो संस्करणमा उद्घाटनलगत्तै उच्चस्तरीय प्रमुख सत्रपछि समानान्तर सत्र सञ्चालन हुने छन् । विशिष्ट अतिथिलाई हिमालयको मनोरम दृश्यावलोकन तथा जलवायु परिवर्तनले ल्याएका चुनौतीका बारेमा अवगत गराउँदै अन्तिम दिन काठमाडौँ घोषणापत्र जारी गरेसँगै समापन हुने छ । उक्त घोषणापत्र ब्राजिलमा आयोजना हुने आगामी कोप–३० मा नेपालका हिमाल संरक्षणका लागि बलियो पहल हुने विश्वास नेपाल सरकारले लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update