Harsamaya

काठमाडौं - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् । 

उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रवृत्तिलाई हटाउन आग्रह गरे । 

मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरूलाई व्यवसायीहरुले ‘आतंककारी’को रूपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् । 

उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला  । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला । सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ । कोहीपनि अछुतो छैनौं ।’

उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे । 

‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं । छ भने मलाई भन्नुस् । अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन् । त्यो कानुनमा पनि छैन् । कर्मचारीहरू नै जानुहुन्छ । प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौ । प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरूलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौ,’उनले भने ।  

यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको वाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रुपमा चोरी गरेसरह हुने बताए । 

‘एमआरपी दुई प्रकारको हुन्छ । एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नैं हुँदैन । यदी एमआरपी हुन्छ भने उ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो । तेस्रोको एमआरपी हुँदैन् । त्यो अधिकार कानुनले दिँदैन । अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो ।’
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update