Harsamaya

काठमाडौं - बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरू बढेको हुनाले सुरक्षामा चुनौती थपिएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एआईको प्रविधि भित्रिएसँगै चुनौतीहरू पनि बढेको भन्दै यस विषयमा अझ बढि काम गर्नुपर्ने बताए । उनले भने, ‘एआईको प्रविधि भित्रिएसँगै त्यसका चुनौतीहरूको विषयमा अझ काम गर्नुपर्ने छ । यसबारेमा धेरै चर्चा भएको छ जस्तो लाग्दैन । सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरू बढि रहेको छ । यसले पनि सुरक्षामा चुनौती थपिएको छ । यस बारेमा सरकारले धेरै कामहरू गर्नुपर्ने छ ।’ 

यस्तै, उनले देश डिजिटल तर्फ बढ्दै गर्दा नागरिकहरु पछाडी छुट्ने हो की भन्ने चिन्ता पनि रहेको भन्दै सबैलाई साथमा लिएर जाने हिसाबले पनि सरकारले काम गर्नुपर्ने बताए । 

आजको समाज कता जाँदैछ, प्रदेश सरकारसँगको अपेक्षा के हो भन्ने कुरामा स्पष्ट हुनको लागि आजको कार्यक्रम भएको भन्दै यसबाट निश्चित रूपमा केही निष्कर्ष आउनले पनि उनको भनाई छ । 

यस्तै, बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए । 

उनले भने, ‘नेपालको संविधानमा राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि त्यसलाई सर्व साधारण जनताको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको छ । विद्युतीय कारोबारलाई सुरक्षित बनाउनका साथै विद्युतीय अभिलेख माथि अनधिकृत व्यक्तिको पहुँचलाई नियन्त्रण गर्ने उद्देश्यका साथ विद्युतीय कारोबार ऐन २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ लाई कार्यान्वयनमा ल्याइएको छ ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update