
काठमाडौं - नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘यतिबेला देशमा अनियमितता बेथिति र कुशासन व्याप्त छ । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम रूपमा घूसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? मन्त्री र प्रधानमन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस् ।
त्यस्तै, उनले मन्त्रालयजति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार नहुने धारणा राखे । सिंहदरबारको गेट खुला गरेर जनतालाई सहज प्रवेश गराउन उनको माग छ ।
उनले भने, ‘अहिलेको ठूलो समस्या भनेको कुशासन हो । कुशासनको जिउँदो नमुना सिंहदरबार गेट हो । त्यहाँ भएको जनताको लाइनमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने, फलामे गेटले घेरेर जेल जस्तै बनाउने, अनि जनतालाई प्रवेश निषेध गर्ने कुरा स्वीकार छैन । गेट खुला गरेर जनतालाई सहज प्रवेश गराइयोस् ।’