काठमाडौं - नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भइरहेको कामको बारेमा सरकारले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भइरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद् मार्फत सिङ्गो देशलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद् र संसद् मार्फत सिङ्गो देशलाई जानकारी गराउनु पर्छ । शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भइरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भइरहेको छ । उपसमितिमा भइरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ ।’
यस्तै, उनले वैशाख १४ गते भएको घटना दुख लाग्दो भएको भन्दै प्रहरी र शिक्षक दुवै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हिजो भएको घटनाप्रति म दुख व्यक्त गर्न चाहन्छु । यस्तो घटना नुहुनु पर्ने थियो । प्रहरीहरू र शिक्षकहरू पनि राष्ट्र सेवक हुन्, राष्ट्र सेवकहरू माथि यो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचित होइन । म शिक्षकहरूलाई आफ्ना घोषित कार्यक्रम अनुसार नै सरकार, संसद्, समाज र सिङ्गो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि आग्रह गर्न चाहन्छु र सुरक्षाकर्मीहरूलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहन्छु ।’