Harsamaya
ठमेलमा पर्यटक ठगी गर्ने २२ जनामाथि कारबाही
जिल्ला प्रशासन कार्यालय काठमाडौँ ।

काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने २२ जनामाथि कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित विभिन्न सुरक्षा निकाय र ठमेल पर्यटन विकास परिषद्को संयुक्त अनुगमनका क्रममा उनीहरू कारबाहीमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्ले सोमबार राति ठमेल क्षेत्रमा संयुक्त अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा ठूलो आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, दर्ताबिना सञ्चालित स्पा, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटकलाई ठगी गर्ने डान्सबार सञ्चालक गरी २२ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिए ।

गत शुक्रबारको अनुगमनका क्रममा पहिचान गरिएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा बोलाइएको थियो । प्रशासनले उनीहरूलाई आगामी एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

त्यस्तै, दर्ताबिना सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले बताए ।

ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० कार्यान्वयन गर्ने क्रममा प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । उक्त मापदण्ड तत्कालीन परिषद् अध्यक्ष भविश्वर शर्माको नेतृत्वमा तयार गरी जिल्ला सुरक्षा समिति काठमाडौँबाट स्वीकृत भएको थियो ।

अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा अन्य सामान जफत गरिएको छ । उनीहरूलाई एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई सम्झाइबुझाइ छाडिएको छ भने केहीलाई प्रहरी भ्यानमा राखेर नियन्त्रणमा लिइएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।

रातको समयमा ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको छ । सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने नाममा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई नगर प्रहरीले हटाएको जनाएको छ ।

डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा संलग्न व्यक्तिमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताए ।

अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ । व्यवसाय सञ्चालनका नाममा पर्यटकसँग अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्तिमाथि प्रशासनले निगरानी बढाएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update