Harsamaya
देउवासँगको भेटपछि सूर्य थापाको टिप्पणी : रूख चिन्ह पाउनु नै देउवाको मुख्य जोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता सूर्य थापा ।

काठमाडौं - नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता भएको बताएका छन्।

देउवासँगको भेटपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले २०८२ भदौ २३ र २४ गतेको घटनाअघिको अवस्था, त्यसपछिको राजनीतिक परिस्थिति र हालसम्मको अवस्थाबारे छलफल तथा विश्लेषण भएको उल्लेख गरेका छन्।

थापाका अनुसार देउवा राजनीतिक घटनाक्रम, त्यसका प्रभाव र विभिन्न पक्षका नियत तथा परिणामबारे स्पष्ट देखिएका छन्। राजनीतिका विभिन्न उतारचढाव भोगेका देउवा पछिल्लो परिस्थितिबाट पनि निराश नभएको थापाको टिप्पणी छ।

८० वर्षको उमेरमा पनि देउवा जोसिलो रहेको उल्लेख गर्दै थापाले फरक पार्टी र सम्बन्धका व्यक्तिसँग पनि खुलेर मनका कुरा राख्न सक्ने व्यक्तिका रूपमा चित्रण गरेका छन्।

थापाका अनुसार देउवाको अहिलेको मुख्य ध्यान कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा केन्द्रित छ। आधिकारिक चुनाव चिह्न रूख प्राप्त गर्नु नै मुख्य विषय भएकोमा देउवा स्पष्ट र दृढ रहेको थापाले उल्लेख गरेका छन्।

थापाले आफ्नो भेटलाई ‘देउवा दाजुसँग सात क्लिक’ शीर्षक दिएका छन्। भेटका गहन पक्ष, त्यसको राजनीतिक परिदृश्य र परिणाम क्रमशः सार्वजनिक हुँदै जाने पनि उनले बताएका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update