दैलेख - दैलेखमा घरायसी विवादका क्रममा बन्चरो प्रहार गरी आफ्नै श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलाका ३८ वर्षीय अम्मर सलामी मगरले घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका हुन् ।
उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामीको टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दैलेखको दुल्लुस्थित नगर अस्पताल पठाइएको छ ।
घटनामा संलग्न अम्मर सलामी मगर र प्रहारमा प्रयोग भएको बन्चरो प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

