Harsamaya
मनास्लुमा हिउँपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु, मृतकको संख्या चार पुग्यो
मनास्लु हिमाल ।

गोरखा - मनास्लु हिमालमा हिउँपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक आरोही ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गएराति तेस्रो शिविरमा सुतिरहेको टेन्टमाथिबाट हिउँपहिरो खसेर उनीहरू पुरिएका थिए। करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जना मकालु एडभेन्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए। उनीहरूको शव सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।

यससँगै यस याममा मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि दोस्रो शिविरमा सिङ्गापुरका ५० वर्षीय आरोही लाउ वी सेङ र आधारशिविरमा नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको मृत्यु भएको थियो।

यस याममा मनास्लु आरोहणका लागि ४८० विदेशी आरोहीले अनुमति लिएका छन्। आरोहणको डोरी टाँग्ने काम सम्पन्न भइसकेको र आरोहीहरू अन्तिम तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update