काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नरहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमिति कानुनी तथा पार्टी विधानविपरीत भएको दाबी गर्दै आफूहरू सर्वोच्च अदालत गएको स्मरण गरेका छन्। सोही कारण गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा थापा नेतृत्वको कांग्रेसबाट उम्मेदवार बन्न आफूले नैतिक रूपमा नमानेको उनको भनाइ छ।
सर्वोच्च अदालतले वैशाख ४ गते थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। त्यसविरुद्ध खड्का पक्षले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्चले मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको थियो।
खड्काले पुनरावलोकनको मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउँदा कांग्रेसको नाममा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको बताएका छन्। यसले पार्टी विभाजनको अवस्था निम्तिन सक्ने उनको दाबी छ।
उनले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्यांकन गरी अग्राधिकारका साथ यथाशीघ्र अन्तिम फैसला गर्न प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग आग्रह गरेका छन्।
खड्काले सर्वोच्चको अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुनेसमेत बताएका छन्।
यसअघि पनि खड्काले १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग संवाद सुरु गर्न गगन थापालाई आग्रह गरेका थिए।

